|
फोटो : रासस

काठमाडौं : उनीहरुलाई आतंककारीको हमला हामीलाई आफन्तकारीको हमला

तगारोमा बाँस तेर्स्याएर डाँकाबन्दीहरुले नाकाबन्दी गरेको देख्दा

मलाई त यो वीरहरु बस्ने वीरभूमि पनि बिहार जस्तो लाग्यो

राष्ट्र रुवाएर शत्रु हँसाउने प्रवृत्तिलाई नेता भनेर माल्यार्पण गरेको देख्दा

त्यो दिन ठ्याक्कै कुकुर तिहार जस्तो लाग्यो।

यी माथिका लाइन हुन्, प्यारोडी कहलिएका व्यंग्यकार शैलेन्द्र शिंखडाका। प्रज्ञा प्रतिष्ठानमा चलिरहेको 'तिते जिरे गाईजात्रा महोत्सव' मा यसपाली पनि अघिल्ला वर्षहरुमा झैं राजनीति र नेताप्रति चर्को घोचपेच गरे। शिंखडाले झैं महोत्सवमा अन्य कलाकारले पनि वर्तमान राजनीति र नेताहरुप्रति व्यंग्य गरेका छन्।

प्रहरीको मापसे चेकिङ, डा गोविन्द केसीको अनशन, अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने भनी उठेका माग, नयाँ प्रविधिले ल्याएका परिवर्तन र समाजमा देखापरेका नयाँ नयाँ परिवर्तन समेटिएकाले यसपालीका गाईजात्रे प्रस्तुतिका विषयमा विविधता ल्याएको छ। यति हुँदाहुँदै पनि राजनीतिलाई आवश्यकता भन्दा बढी तानेको र राजनीतिप्रति वितृष्णा फैलाउने व्यंग्य प्रस्तुत गरिएको भान हुन्छ।

मंगलबार प्रज्ञाप्रतिष्ठानमा गाईजात्रा हेरेपछि थाहाखबरसँग कुरा गर्दै नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमांगद कटवालले अहिलेको गाईजात्रामा शालिनता नभएको टिप्पणी गरे। पञ्चायतकालदेखि कलाकारले गर्ने गाईजात्रा नै भ्याएसम्म हेरेको बताउदै कटवाल अहिलेको गाईजात्रा कलात्मक भन्दा पनि छाडा भएको गुनासो गर्दै थपे 'पञ्चायतमा बाहिर धेरै कुरा सुन्न पाइन्नथ्यो र गाईजात्रामा मात्र सुन्न पाइन्थ्यो। मजा आउँथ्यो, रौनक हुन्थ्यो। नयाँ नयाँ कुरा सुन्न, देख्न पाइन्थ्यो। किनकी यति छाडा थिएन त्यसबेलामा।'

अहिलेको गाईजात्रामा राजनीतिलाई बढी व्यंग्य गर्नुमा कलाकारसँग विकल्प नभएको हो कि भन्ने धारणा छ संविधानविद् एवं गीतकार भीमार्जुन आचार्यको।उनी भन्छन् 'राजनीति मात्र व्यंग्यको विषय बनाउनुमा कलाकारसँग विकल्प नभएर होला।' यसो हुनुमा कलाकारहरुको प्रस्तुतिका लागि अनुसन्धान नहुनु रहेको उनको भनाई छ। आचार्य भन्छन्, 'अनुसन्धान र खोज गर्ने हो भने त अरु विषय पनि पाइन्थे होला। दर्शक हँसाउन राज्यमा अरु विषय पनि पत्ता लाग्थे होला नि त!'

अहिलेका कलाकारहरुले कला प्रस्तुत गर्ने विकल्पहरु धेरै पाएकाले कसरी राम्रो गरी प्रस्तुति दिन भनी रिहर्सलका गर्न समय नभ्याएकाले हल्काफुल्का विषय हल्का किसिमले नै प्रस्तुत गरेको सञ्चारकर्मी सुमन खरेलको भनाई छ। उनी भन्छन्, 'अहिलेका कलाकारहरुलाई चारैतिर विकल्प भएकाले कोशिस नपुगेको हो कि! पहिलेका कलाकारहरुलाई गाईजात्रा मात्र विकल्प हुन्थ्यो प्रस्तुति दिने' उनी भन्छन् 'पहिलाका गाईजात्रामा गरिएका व्यंग्य बुझ्न टाइम लाग्थ्यो के दिमागले। त्यसमा आनन्द हुन्थ्यो।'

अहिलेका दर्शकको माग अनुसार प्रस्तुति दिने गरेको भनाई छ तितो सत्यका निर्देशक एवं निर्माता दीपकराज गिरीको। उनी भन्छन्, 'समय अनुसार गाईजात्राको प्रस्तुतिमा फरक आएको हो। २०५० सालमा लाग्ने सर्त अहिले लागु हुँदैन। कलाकार प्रस्तुति दर्शक फरक भएकोले यस्तो भएको हो।' विगतमा जस्तो बिम्बको प्रयोगबाट गर्दा दर्शक नहाँस्ने उनको अनुभव छ। उनी भन्छन्, 'विम्बको प्रयोग गरे भने दर्शक हाँस्दैनन्। दर्शक नै परिवर्तन भइसकेपछि त कलाकार पनि परिवर्तन हुनुपर्‍यो।' अहिलेका दर्शकको ईच्छा परिवर्तन भएको स्वीकार्दै खरेल भन्छन्, 'समयको परिवर्तनसँगै दर्शकको रुचीमा पनि परिवर्तन आएको हो।'

गाईजात्राका प्रस्तुतिमा द्विअर्थी शब्द भनेर हँसाउने प्रयास रहेको छ। संवादहरुमा सिधा रुपमा गालीकै तहमा ओर्लनु भन्दा पनि विम्ब प्रयोग गरेको भए हुने भनाई छ आचार्यको। उनी भन्छन् 'कुनै कुरा सिधै भन्नुभन्दा विम्बहरुको प्रयोग गरेको भए शिष्ट हुन्थ्यो होला। कला भनेको त शिष्टता हो। कला कलाजस्तै हुनुपर्छ। त्यसमा कलाको शौन्दर्यता थप्न सके राम्रो हुन्थ्यो।' दैनिक छलफल हुने जस्ता विषयलाई नै गाईजात्राका विषय बनाउँदा प्रभावकारी नभएको पूर्व सेनापति कटवालको बुझाइ छ, उनी भन्छन् 'अलिअलि गर्दै प्रत्यक्ष अप्रत्यक्ष (गाईजात्रामा) जे जति देखाएको थियो, ती हरेक टिभी, पत्रपत्रिका, अनलाइन, हरेक डिस्कसनमा सबै आइराखेकै कुराहरु हो।'

अहिलेको गाईजात्रामा राजनीति हुनुमा दर्शक राजनीतिबाट टाढा नहुनु रहेको गिरीको भनाइ छ। उनी भन्छन्, 'तपाई हामी बिहान उठ्दादेखि नै प्रधानमन्त्रीले मन्त्री कसलाई बनाउँछ भन्छौंं,  राजनीतिबाट को अछुत छ र?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.