|

  • अनिल ढकाल-

चितवन : चोरी सिकारीको गोली लागि घाइते भएर उद्दार गरिएको गैडाको अवस्थामा सुधार आएको छ। चोरी सिकारीले हानेको ६ वटा गोली लागी घाइते भएको गैडाको अवस्थामा सुधार आएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। 

नियमित उपचारपछि सुधारको संकेत राम्रो भएको उपचारमा संलग्नहरुले बताएका छन्। गैडाको उपचारको लागि चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सेनाको टोल खटिएका छन्। गोली लागि सख्त घाइते भएको गैंडा खासै हिँडडुल गर्न सक्दैन। मानिस नजिक जाँदा पनि गैंडाले केही गर्दैन। 

गैंडाका लागि दैनिक ८ किलो बन्दा र स्याउ दिने गरिएको छ। पालो लगाएर कामदारहरु गैंडालाई खुवाउन सक्रिय रहेका छन्। अहिले गैडाको अवस्थामा क्रमिक सुधार आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डाक्टर चिरञ्जीवि पोखरेलले बताए। निकुञ्जको हात्तिसार वरपर रहने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. कमल गैरे, डा. पुरुषोत्तम पाण्डे र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. अमिर सडौला गैंडाको उपचारमा सक्रिय रहेका छन्। 

टाउकोमा ४ वटा, ढाड र गर्धनमा एक÷एक वटा गोली लागेर  गम्भीर घाइते भएको सुरक्षाको साथमा नियमित उपचार भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए। गैंडाका लागि नेपाली सेनाको श्रीजङ गणले सुरक्षा दिएको छ। अर्को गैंडाबाट जोगाउनका लागि  सेना र हात्ती तैनाथ गरिएको छ। सेनाले २४ घण्टा निगरानी राखेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित गैडाटारनजिकै जंगलमा शनिबार शिकारीको गोली लागी घाइते भएको गैंडालाई गत आइतबार  चितवन ल्याइएको हो। चितवन राष्ट्रिय निकुञ्ज वा पर्सा वन्यजन्तु आरक्षणबाट रौतहट पुगेको १५ वर्षको भाले गैंडालाई गत शुक्रबार राती शिकारीले गोली हानेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.