|

बागलुङ : वाम गठबन्धनले बागलुङको हटियामा बिहीबार गरेको चुनावी सभालाई नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गरेका छन्। गलकोट बहुमुखी क्याम्पस परिसरमा भएको सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरेका हुन्। 

कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेको निर्वाचन विगतको जस्तो सामान्य नभएर अब देशलाई कतातर्फ लैजाने भन्ने कुराको छिनोफानो गर्ने निर्वाचन भएको बताए। उनले नेपालको भौगोलिक अखण्तालाई कायम राख्दै स्वाभिमान सहितको स्थिर सरकार बनाएर आर्थिक समृद्धिको बाटोमा अघि बढाउन वामपन्थीलाई भोट दिन आग्रह गरे।

‘हामीले संविधान बनायौँ, अब राष्ट्रिय हितको सुरक्षा गर्दै हाम्रा पुर्खाले राखेको गौरवलाई अझ उचाईमा उठाएर देशलाई आर्थिक रुपमा समृद्ध बनाउने बलियो सरकार चाहिएको छ,’ उनले भने, ‘यसैका लागि बलियो सरकार बनाएर देश हाँक्न वाम गठबन्धन भएको हो, यस पटक गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुहुन म अपिल गर्दछु।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको दश वर्ष आफूहरुलाई मुलुकको शासन गर्ने अवसर दिन आग्रह गरे। प्रचण्डले राजनीतिक क्रान्तिको समय सकिएको भन्दै बलियो वामपन्थी सरकार बनाएर चरणवद्ध रुपमा विकासको गतिलाई अघि बढाउने संकल्प सहित आफूहरु चुनावमा होमिएको बताए। प्रचण्डले कांग्रेस गणतन्त्र विरोधी राप्रपाका उम्मेदवारलाई उचालेर आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न आएको भन्दै परिवर्तन विरोधी शक्तिसँग साँठगाँठ गर्नेलाई जनताले मत नदिने दाबी गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनावको मुखमा आएर कांग्रेसले जनतालाई पाइप बाँड्ने, बाटो खनिदिने जस्ता प्रलोभानमा परेर भोट खरिद गर्न लागेको आरोप लगाए। ‘कांग्रसका साथीहरु अहिले बाटो खन्दै हिँड्नुभएको छ, विजुलीका खम्बा र पानीका पाइप बाँड्दै हुनुहुन्छ,’ केसीले भने, ‘अब यस्तालाई भोट दिएर देशको विकास कहिले हुन्छ, त्यसैले भ्रममा नपरेर वामपन्थीलाई भोट दिनुहोस् मुलुक बनाउने जिम्मेवारी हाम्रो हो।’

प्रचण्ड र ओली बागलुङको सभामा सम्बोधन गरेर पर्वतको कार्यक्रममा सहभागी हुन हेलिकप्टर मार्फत त्यसतर्फ गएका छन्। कार्यक्रम सुरु हुनअघि कार्यक्रम स्थल नजिकै वम विस्फोटको आवाज सुनिएको थियो। बिस्फोट कसले गराएको हो भन्ने बारे अनुसन्धान भइरहेको र कुनै क्षती नभएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.