|
फाइल फोटो

गोरखाः नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा– २ का प्रतिनिधिसभा उम्मेदवार डा. बाबुराम भट्टराईलाई भोट माग्न नेपाली कांग्रेसका नेताहरू शनिबार पालुंटार अउने भएका छन्।

पालुंटारमा हुने लोकतान्त्रिक गठबन्धनको बृहत चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका समानुपातिकतर्फका उम्मेदवार तथा उद्योगपति विनोद चौधरी र नयाँ शक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धर गोरखा आउने नयाँ शक्ति पार्टी नेपालका गोरखा संयोजक रमेश पोखरेलले जानकारी दिए। 

यसअघि बुधबार वाम गठबन्धनको चुनावी सभा पालुंटारमा नै सम्पन्न भएको थियो। सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएका थिए। 

गोरखामा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारको रूपमा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग चुनाबी प्रतिस्पर्धामा छन्। 

दुई क्षेत्र भएको गोरखामा क्षेत्र नं.– २ मा डा. भट्टराई र नाराणकाजीसँगै २ नम्बरको ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्यसँग माओवादी केन्द्रकी कमला नहर्की चुनावी मैदानमा छन्। त्यस्तै क्षेत्र नं.– २ को ‘ख’मा कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी र माओवादीका अमर तमुबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। 

क्षेत्र नं.– १ मा नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता हरिराज अधिकारी प्रतिस्पर्धामा छन्। क्षेत्र नं.– १ को ‘क’मा कांग्रेसका धिरन थापा र माओवादीका लेखबहादुर थापा मगर रहेका छन्। क्षेत्र नं.– १ को ‘ख’मा एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईं चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.