|

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका ५ मा शनिबार वाम गठबन्धनको भेलामा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन्। स्थानीय राधाकृष्ण मन्दिर परिसरमा भेला सकिए लगत्तै बम विस्फोट हुँदा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।

भेला सकिएर सर्वसाधारणहरु बाहिरिने क्रममा बम विस्फोट भएको भेलाका सहभागी एकराज थापाले बताए। विस्फोटमा परी ३१ वर्षीय सीता राई , ४५ वर्षीय लक्ष्मी  राई र ७ वर्षीय जबिस राई गम्भीर घाइते भएका  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शान्ताराम कोइरालाले जानकारी दिए। गम्भीर घाइतेहरुलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ भने समान्य घाइतेहरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ ।

दिउँसो साढे २ बजे बम विस्फोट भएको थियो। घटनाको प्रकृति हेर्दा रिमोट बम हुन सक्ने आशंका गरेको डीएसपी कोइरालाले जानकारी दिए। बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विस्फोटमा अखिल नेपाल महिला संघ चन्द्रपुरकी अध्यक्ष यमुना काफ्ले पनि घाइते भएकी छन्। उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ। भेला सकिएलगतै बैठक हलबाट सहभागीहरु बाहिरिने बित्तिकै बम विस्फोट भएको काफ्लेले बताइन्। नेकपा एमालेका नेता तथा निवर्तमान सांसद रामकुमार भट्टराईले यो घटना सुनियोजित भएको बताएका छन्। 'यो सरकारको चरम लापरवाही हो,दोषीलाई चाँडैभन्दा चाँडै कारबाही हुनुपर्ने वाम गठबन्धनको माग छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.