के छ कांग्रेस उम्मेदवारको घोषणा?

|

रुकुम : रुकुम पश्चिमबाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर अहिले चुनावी अभियानमा गाउँगाउँमा व्यस्त छन्। जिल्लाको सुगम क्षेत्र सिम्रतुदेखि दुर्गम क्षेत्र गोतामकोटसम्मका गाउँमा घरदैलो र सभा गरिरहेका उनी आफ्नो ५ वर्षे मार्गचित्र बाँडिरहेका छन्। ‘वाम एकता समाजवादको आधार, समृद्ध रुकुम निर्माण हाम्रो सरोकार' नारा दिइएको घोषणापत्रमा उनले ५ वर्षभित्र गर्ने कामबारे उल्लेख गरेका छन्।

जसमा प्रत्येक गाउँपालिकामा रिङरोड (चक्रपथ) देखि सुविधासम्पन्न अस्पतालसम्मका योजना छन्। आफ्नो पहलमा जिल्लामा २०६३ सालपछि ७ सय ७० किमी सडक खनिएको दावी गर्दै शर्माले सल्ली चौरजहारी सडक खण्ड १ वर्षभित्र र पुष्पलाल लोकमार्ग २ वर्षभित्र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्लामा हालसम्म खनिएका सडकको स्तरवृद्धि गर्ने र सबै गाउँपालिकामा स्तरीय रिङरोडको काम ५ वर्षभित्र सम्पन्न गर्ने उनको योजना छ। त्यस्तै हरेक स्थानीय तहमा सुविधा सम्पन्न २५ शैय्यासम्मका अस्पताल र जनताको निशुल्क स्वास्थ्य उपचार गर्ने उनले बताएका छन्। गुणस्तरीय शिक्षालाई जोड दिँदै एक क्याम्पस एक प्राविधिक शिक्षालय स्थापना गर्ने पनि शर्माको घोषणापत्रमा उल्लेख छ।

पाँच वर्षभित्र एक घर एक धारा पुर्‍याउने घोषणा गरेका शर्माले २ वर्षभित्र सबै घरमा उज्यालो पुर्‍याउने उद्घोष गरेका छन्। जिल्लाका बजार तथा सहरहरुलाई व्यवस्थित गर्दै नमुना सहरमा विकाससँगै स्थानीय सरकारका सेवा सुविधा दिन एकीकृत सेवा प्रवाह कार्यालय वडा स्तरमा शुरु गरिने शर्माको योजना छ।

उनले कृषि तथा खाद्यजन्य उद्योग स्थापना गरेर गाउँमै रोजगारीको दिलाउने, १ वर्षभित्र सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने, जेष्ठ नागरिकलाई १ जोर न्यानो कपडा वितरण गर्ने, २६ प्रतिशत रहेको गरिबीको संख्या शुन्यमा झार्ने योजना अघि सारेका छन्। १० हजार युवालाई जलविद्युतको शेयर उपलब्ध गराउनेदेखि पर्यटन विकासका लागि साँस्कृतिक तथा युद्ध पर्यटनको व्यवस्थित योजना बनाउने शर्माले बताएका छन्।

दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पश्चिम रुकुममा वाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ बाट रातो कामी र २ बाट गोपाल शर्मा उम्मेदवार छन्।

यस्तो छ कांग्रेस रुकुमको घोषणा 

प्रतिनिधिसभामा पश्चिम रुकुमबाट नेपाली कांग्रेसका उम्मेदवार गोपालजीजंग शाह रहेका छन्। उनले रुकुमको सोलाबाङ छिनखेत आठविसकोट सडकलाई कालोपत्रे गर्नेदेखि जिल्लाका २ दर्जनबढी स्थानीय सडकहरुको स्तरवृद्धि र नयाँ ट्रयाक खोल्ने प्रतिवद्धता जनाएका छन्। २ वर्षभित्र जिल्लाका विभिन्न ठाउँमा सिंचाई र खानेपानी सुविधा पुर्‍याउन ठूला सिञ्चाई तथा सौर्य खानेपानी योजना सञ्चालन गर्ने पनि कांग्रेसको योजना छ।

रुकुम मुसीकोटलाई एक वर्षभित्र स्मार्ट सिटी बनाउन पहल गर्ने उल्लेख गर्दै जिल्लाका ३ गाउँपालिकालाई नगरपालिकामा स्तरवृद्धि गर्ने उल्लेख छ। एक घर एक रोजगारदेखि जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता दोब्बर पार्ने पनि कांग्रेसको योजना छ। सशस्त्र द्वन्द्वका क्रममा घाइते, अपांग भएका र सम्पत्ति लुटिएकाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोगको सिफारिसका आधारमा विशेष राहत उपलब्ध गराउने कांग्रेसको योजना छ। पश्चिम रुकुममा नेपाली कांग्रेसबाट प्रदेशसभामा कृष्ण रोकाय र २ बाट खड्कबहादुर डाँगी उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.