|

दमक (झापा) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा वाम गठबन्धनले शनिबार शक्ति प्रदर्शनसहितको चुनावी सभा गरेको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरुले संबोधन गरेको सभामा एमाले अध्यक्ष ओलीले आफ्नो भाषण विकासका मुद्दामा केन्द्रित गरे भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताको विषयमा। यस्तै राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले भने देशव्यापी रुपमा नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धनमा रहे पनि उसले दिएको धोकाका कारण झापामा वाम गठबन्धनमा सहभागी भएको प्रष्टिकरण दिए।

विकास अरुले गर्दैन : ओली

राष्ट्रिय आवश्यकताका आधारमा वाम गठबन्धन बनाएको भन्दै एमाले अध्यक्ष ओलीले यो देशमा वामन्थीबाहेक अरुले देशको विकास गर्नै नसक्ने दावी गरे। लोकतन्त्र प्राप्तिका लागि आफूहरुले दशकौं संघर्ष गरेको भन्दै उनले यो देशका वामपन्थीहरुलाई लोकतन्त्र के हो भनेर अरुले बुझाइरहन आवश्यक नरहेको बताए।

निर्वाचनपछि पार्टी एकीकरण हुनेमा ढुक्क हुन आग्रह गरेका उनले अधिकांश समय भने विकास निर्माणका बिषयमा बोले। दमकमा एमालेकै अगुवाईमा विश्वकै अग्लो बुद्धमूर्तिसहितको पार्क, औद्योगिक पार्क, सभा गृह, विभिन्न पुल र सडकका योजना कार्यान्वयनको प्रक्रियामा रहेको ओलीले दावी गरे। अब स्थानीय तहदेखि प्रदेश र केन्द्रमा समेत वाम सरकार हुने र देशलाई विकासको गतिमा अघि बढाउने धारणा ओलीले बताए।

२०५० सालमै एकताको तयारी थियो : प्रचण्ड

ओलीको गृह जिल्लामा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने इतिहास र विकासका विषयमा केन्द्रित भए। उनले वाम गठबन्धन र एकताको कुरा अहिले हठात उठेको नभई २०५० सालदेखिकै अभ्यासको निरन्तरता रहेको प्रकाश पारे। २०४६ सालको जनआन्दोलन पछिनै कम्युनिष्ट एकताको प्रयास शुरु भएको र त्यसको परिणामस्वरुप एउटा समूह नेकपा एमालेमा र अर्को समूहमा आफ्नै नेतृत्वको एकताकेन्द्रमा केन्द्रित भएको सम्झिए।

एकताकेन्द्र र एमालेकाबीचमा पनि एकताको अन्तिम तयारीका बेला मदन भण्डारीको हत्या भएको भन्दै उनले भने ‘मदनजी र मबीचमा २०५० सालको जेठ ११ गते पार्टी एकताका लागि संयुक्त बैठक बस्ने भनेर ठाउँ तय भयो, के के खाना खाने भनेर मेन्यू पनि बन्यो तर जेठ ३ मै अकल्पनीय घटनाबाट हामीले मदनजीलाई गुमायौं। अनि मैले पर्खिएको त्यो जेठ ११ कहिल्यै आएन।’ त्यो जेठ ११ नआएपछि एमाले र आफूहरुले आआफ्नै बाटो लागेको उनको भनाइ थियो। तर अब ओली र आफूले ऐतिहासिक कदम उठाएर पार्टी एकताको आधार तयार पारेकाले यसबाट कसैले पनि टाउको दुखाउन जरुरी नभएको उनले बताए।

कलाकारले मागे भोट

चुनावी सभामा कलाकारहरुले खुलेर वाम गठबन्धनको पक्षमा भोट मागे। कार्यक्रममा बद्री पङ्गेनी, टीका भण्डारी, कोमल ओली, वैकुण्ठ महतले विभिन्न गीत तथा प्यारोडीहरु प्रस्तुत गरे। उनीहरुले वाम गठबन्धनलाई जिताउन आग्रह गर्दै गीत गाए भने कोमल, टीका र बद्रीले त भाषण पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.