वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना नेतालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी र केन्द्रीय सदस्य अकलु यादवलाई पक्राउ गरेको हो।
पूर्वसभासदसमेत रहेका हवारीलाई प्रहरीले वीरगञ्जको रानीघाटस्थित उनको घरबाटै मंगलबार बिहान नौ बजेतिर पक्राउ गरेको हो भने यादवलाई पनि वीरगञ्जबाटै सोधपुछको लागि हिरासतमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि गरिरहेको आशंकामा सोधपुछका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पर्सा प्रहरीले यसअघि गत शनिबार पनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुरा राज्य जनपरिषद् प्रमुख बिग्गा चौरसियालाई पक्राउ गरी हिरासतमा राखेको छ।
निर्वाचनलाई लक्षित गरी विभिन्न जिल्लामा वम विष्फोट गराउँदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि पर्सा प्रहरीले पनि विशेष निगरानी राखेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।