|

विराटनगरः वाम गठबन्धनको आधार क्षेत्र मानिएको मोरङका केही क्षेत्रमा जीत हात पार्न नसकेपछि असन्तुष्टि बढेको छ। 

स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा भन्ने हो भने प्रतिनिधिसभा तथा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले हार चाखेका क्षेत्र जित्नुपर्ने हो। तर, ती क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित्न सकेनन्। 

क्षेत्र नम्बर २, ३ र ६ को प्रदेशसभाका उम्मेदवारको हार भएपछि त्यहाँ अन्तर्घात भएको भन्दै आलोचना सुरु भएको छ। यस्तै, प्रतिनिधिसभाका लागि पनि क्षेत्र नम्बर– २ जित्ने हुँदाहुँदै एमालेभित्रको चरम अन्तरविरोधका कारण हार भएको आरोप लागेको छ। 

स्थानीय तहको निर्वाचनमा मोरङको क्षेत्र नं.– २ ‘क’मा वाम गठबन्धनको १३ हजार ६५७ र कांग्रेसको ११ हजार ३११ मत रहेको थियो। ‘यति ठूलो अन्तर हुँदाहुँदै पनि कसरी वाम गठबन्धनका उम्मेदवारको पराजय भयो?’, एक एमाले नेताले भने, ‘यसको उचित समीक्षा आवश्यक छ।’ 

उक्त क्षेत्रमा वाम गठबन्धनका माओवादी नेता गणेश उप्रेतीले कांग्रेसका शिवनारायण गनगाईंलाई जित्न नसक्नुको कारण अन्तर्घात नै भएको उनीहरूको दाबी छ। सोही क्षेत्रको प्रदेशसभा ‘ख’मा भने एमालेका उम्मेदवारले जीत हातपारेका छन्। 

स्थानीय तहको मतका आधारमा क्षेत्र नम्बर– २ ‘ख’मा वाम गठबन्धनको मत १४ हजार ८८३ र कांग्रेसको ११ हजार ४० मत थियो। एमालेको अन्तर्घातकै कारण क्षेत्र नम्बर– २ प्रतिनिधिसभामा पनि एमाले नेता ऋषिकेश पोखरेलले पराजय व्यहोर्नुपरेको उनीहरूको आरोप छ। 

यस्तै, २ नम्बर क्षेत्रको भन्दा ठूलो अन्तर्घात ३ नम्बर क्षेत्रमा भएको आरोप ती नेताको छ। प्रतिनिधिसभामा एमालेका भानुभक्त ढकालले जीत हासिल गरे पनि कांग्रेसका डा. सुनिल शर्मासँग कडा प्रतिस्पर्धा भएको थियो, जबकि उक्त क्षेत्रमा एमाले र माओवादीको मत कांग्रेसको भन्दा दोब्बर बढी थियो। 

यस क्षेत्रको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका केही कार्यकर्ता तथा नेता बिक्री भएका कारण निर्वाचनमा प्रदेशसभातर्फ गीता तिम्सिनाको पराजय भएको आरोप लगाइएको छ।

स्थानीय तहको निर्वाचनमा प्रदेशसभाकै निर्वाचन क्षेत्र नं.– ३ ‘क’मा वाम गठबन्धनको २१ हजार २५ र कांग्रेसको १० हजार १७८ मत रहेको थियो। उक्त क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी महिला नेतृ गीता तिम्सिनाले कांग्रेसका सुयर्माराज राईबाट नौ सय मत अन्तरले पराजित हुनुपर्‍यो। ‘एमाले उम्मेदवार बनेको क्षेत्र नम्बर– ३ को ‘ख’मा जित्ने तर माओवादी उम्मेदवार हराउन लाग्ने?’ क्षेत्र नम्बर ३ ‘क’का स्थानीय माओवादी नेता अभिनारायण लुइँटेलले भने, ‘एमालेले हामीलाई धोका दियो।’

यस्तै, क्षेत्र नम्बर– ६ को ‘ख’का वाम उम्मेदवारका लागि स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा जीत निकाल्न सहज थियो तर परिणाम उल्टो आयो। एमालेका स्थानीय नेताहरूको अन्तर्घातका कारण एमालेकै उम्मेदवार रमेश पोखरेलले पराजय व्यहोर्नुपरेको कतिपयको विश्लेषण छ। पोखरेलमाथि यसअघिको स्थानीय चुनावमा विराटनगर– १२ को वडाध्यक्षमा भोला बराललाई हराएको आरोप एमालेभित्र लाग्ने गरेको थियो।

स्थानीय निर्वाचनमा त्यस क्षेत्रमा वाम गठबन्धनको आठ हजार ९५४, कांग्रेसको सात हजार १२६ र संघीय सानजवादीको तीन हजार ८२२ मत थियो। उक्त क्षेत्रबाट पोखरेललाई तीन हजार बढी मतान्तरले हराउँदै कांग्रेसका केदार कार्की विजयी भए। 

मोरङको क्षेत्र नम्बर– ४ मा भने वाम गठबन्धनको आधार कमजोर हुँदाहुँदै पनि कांग्रेस क्लिन स्विप भएको छ। स्थानीय तहको निर्वाचनमा क्षेत्र नं.– ४ ‘क’मा वाम गठबन्धनको १३ हजार ७३८ र कांग्रेसको १५ हजार १७५ मत रहेको थियो। त्यसका बाबजुद वाम गठबन्धनका विजय विश्वासले कांग्रेसका भक्तिनाथ माझीलाई पराजित गरे। 

यस्तै, क्षेत्र नं.– ४ ‘ख’मा वाम गठबन्धनको नौ हजार २७७ र कांग्रेसको नौ हजार ९६८ मत थियो। कम मत भएको आँकलन भइरहेका बेला एमालेका जीवन घिमिरेले कांग्रेसका विश्वनाथ रिजाललाई पराजित गरे। उक्त क्षेत्रमा कांग्रेसभित्र अन्तर्घात भएको आरोप छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.