|

वीरगंज : संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार यादवले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभासद अनिलकुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतले पछि पार्दै विजयी भएका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको जानकारी अनुसार फोरम–राजपा गठबन्धनका यादवले २१ हजार १ सय ३२ र कांग्रेसका रुङ्ग्टाले १६ हजार ४ सय मत प्राप्त गरेका छन्। वाम गठबन्धनका संयुक्त उम्मेदवार विचारी यादवले ५ हजार ४ सय ८१ मत प्राप्त गरेका छन्।

देशभर चासोको विषय बनेको मधेस आन्दोलनको केन्द्रबिन्दु पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा शुक्रबारदेखि सुरु भएको मतगणनामा प्रदीपले सुरुदेखिनै अग्रता लिएका थिए। नेपाली कांग्रेसका रुङ्ग्टाले उनलाई पछ्याए पनि मतान्तर भने कम गर्न सकेका थिएनन्।

जितपछि पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिदै यादवले आफ्नो जित मात्र नभई मधेस मुद्दाको जित भएको बताएका छन्। उनले मधेसी जनताको अधिकार तथा संविधान संसोधनको लागि संसदमा आन्दोलन गर्ने बताए। ६ महिनासम्म वीरगंजलाई केन्द्रित गरेर चलेको मधेस आन्दोलनमा यादवले प्रमुख नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका थिए। उनी २०७० मा भएको संविधानसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए।

को हुन प्रदीप यादव ?

वि.स २०३२ सालमा पर्साको मनियारीमा साधारण किसान परिवारमा जन्मेका यादवले वीरगञ्जको सिद्धार्थ माविबाट २०४८ सालमा एसएलसी पास गरेका थिए। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण–पत्र तह उतीर्ण गरेका यादव २०४९ सालदेखि राप्रपाको विद्यार्थी राजनीतिमा लागेका थिए। 

२०६४ सालमा मधेस आन्दोलन हुँदा उनी तत्कालिन संघीय सामाजवादी फोरम नेपाल पर्साको जिल्ला उपाध्यक्ष हुदै २ कार्यकाल पार्टीको जिल्ला अध्यक्ष भई हालसम्म कायम रहेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका विचारी यादवसंग झिनो मतान्तरले हारेका यादव अहिले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगटालाई पछि पार्दै निर्वाचित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.