विजेता र पराजित उम्मेदवार छुट्याउनै गाह्रो

|

मनोज भट्टराई-

    ओखलढुंगा : ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रमसँगै विजय र पराजय हुने उम्मेदवारबीच राजनीतिक शिष्टाचार, भद्र व्यवहार र सम्मान गर्ने परिपाटी पनि लोभलाग्दो देखिएको छ। 

    राजनीतिमा विजय तथा पराजय हुने उम्मेदवारबीच भेटघाट त परै जाओस् बोलचालसम्म बन्द हुने गर्छ।  तर, ओखलढुंगामा वामपन्थी नेता र कांगे्रसका नेताहरुले जितमा पनि नमात्तिएर हारमा पनि नआत्तिएर गरेको बधाई साटासाट गर्ने शैलीले सबैको ध्यान ओखलढुंगा तानेको छ।

    ०७० को संविधानसभामा निर्वाचित ओखलढुंगेली जनताको मनका ढुकढुकी बन्न सफल दुई युवा नेताबीच आपसमा कहिल्यै आपसी द्वन्द्व भएन। बरु दुवै नेताहरु संविधान निर्माण, विकास निर्माणसँगै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न त कहिले भूकम्पपीडितहरुलाई राज्यले दिएको राहत वितरणमा जिल्ला तथा राष्ट्रियस्तरमा चर्चाको शिखरमा रही नै रहे।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै ओखलढुंगाका नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले नेकपा (एमाले)का विजयी उम्मेदवार यज्ञराज सुनुवारलाई भेटेरै बधाई दिए। नेता सुनुवारले पनि विजयीको खुसियालीमा खतिवडालाई फूलको माला पहिराई दिएर प्रतिस्पर्धीको सम्मान गरे।

    खुसी साटासाट गर्ने क्रममा प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले आफू ओखलढुंगावासीको साझा प्रतिनिधि भएकोले आफ्ना प्रतिस्पर्धी रहेका उम्मेदवार रामहरि खतिवडाले हारे पनि उहाँको एजेण्डालाई समेत समेटेर जिल्लाको समग्र विकासमा लागि पर्ने बताए। यो देखेर ओखलढुंगेलीहरु झन खुसी भएका छन्।

    नेपाली राजनीतिमा नेताहरुबीच राजनीतिक कटाक्ष हुने गरे पनि ओखलढुंगाका नेताहरु नेपाली राष्ट्रिय राजनीतिमा उदाहरणीय बन्न सफल बनेका छन्।  

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.