प्रदेशसभामा वाम गठबन्धनलाई दुई तिहाई

|

काठमाडौं : प्रदेश नम्बर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउन अब स्याङ्जा जिल्लाका दुई निर्वाचन क्षेत्र बाँकी छन्। कुल १८ वटा निर्वाचन क्षेत्रमध्ये १६ वटाको नतिजा आउँदा जम्मा १ निर्वाचन क्षेत्रमा मात्र कांग्रेस विजयी भएको छ। नवलपरासी पूर्वको क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा. शशांक कोइरालामात्र कांग्रेसबाट जित्ने उम्मेदवार हुन्। स्याङ्जाका दुई क्षेत्रमा मतगणना भइरहँदा दुवै क्षेत्रमा कांग्रेस उम्मेदवार पछि परेका छन्।

यस प्रदेशबाट प्रतिनिधिसभामा सबैभन्दा धेरै एमालेका ११ जना निर्वाचित भएका छन्। एमालेबाट कास्की १ मा खगराज अधिकारी, २ मा रवीन्द्र अधिकारी, ३ मा जगत विश्वकर्मा, तनहुँ १ मा कृष्णकुमार श्रेष्ठ, २ मा केदार सिग्देल, मनाङमा पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन्। त्यस्तै मुस्ताङबाट प्रेमप्रसाद तुलाचन, म्याग्दीबाट भुपेन्द्रबहादुर थापा, वागलुङ १ बाट डा. सूर्यप्रसाद पाठक, नवलपरासी पूर्वबाट तिलबहादुर महत क्षेत्री र पर्वतबाट पदम गिरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। माओवादी केन्द्रका गोरखा १ बाट हरि अधिकारी, वाग्लुङ २ बाट देवेन्द्र पौडेल, लमजुङबाट देव गुरुङ निर्वाचित भएका छन्। प्रदेश ४ बाटै नयाँ शक्ति पार्टी नेपालका डा. बाबुराम भट्टराई पनि निर्वाचित भएका छन्। 

प्रदेशसभामा वाम गठबन्धनलाई दुई तिहाई, कांग्रेसको जम्मा ५ सिट

चार नम्बर प्रदेशका ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये नतिजा आइसकेका ३२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा मात्र कांग्रेस उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका भने जम्मा ५ जनामात्रै निर्वाचित भएका छन्। जसमध्ये मनाङका चिन्तबहादुर घले, नवलपरासी पूर्वका विष्णु लामिछाने र कृष्णचन्द्र लामिछाने नेपाली, गोरखाका प्रकाशचन्द्र दवाडी र कास्कीका विन्दुकुमार थापा रहेका छन्।

सबैभन्दा धेरै १५ वटामा एमाले उम्मेदवार विजयी भएका छन्। एमालेबाट गोरखामा रामशरण बस्नेत, तनहुँमा रामबहादुर गुरुङ र किरण गुरुङ,  लमजुङमा पृथ्वी सुब्बा गुरुङ र धनन्जय दवाडी, म्याग्दीका नरदेवी पुन, कास्कीमा राजीव पहारी, कृष्णबहादुर थापा र मनबहादुर गुरुङ विजयी भएका छन्। त्यस्तै मुस्ताङमा महेन्द्र थकाली र इन्द्रधारा डादु विष्ट, नवलपरासी पूर्वमा रोसनबहादुर गाहा र जनकलाल श्रेष्ठ, पर्वतमा विकास लम्साल र  वागलुङमा इन्द्रलाल सापकोटा पनि एमालेबाट विजयी भएका छन्।   

प्रदेश ४ मा माओवादी केन्द्रका ८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। जसमध्ये गोरखामा लेखबहादुर थापा, तनहुँमा आशा कोइराला र हरिबहादुर चुमान, कास्कीमा दीपक कोइराला र रामजीप्रसाद बराल, म्याग्दीमा विनोद केसी, वाग्लुङमा चन्द्रबहादुर बुढा र पर्वतमा नेत्रनाथ अधिकारी विजयी भएका छन्।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेको नयाँ शक्ति पार्टी नेपालले गोरखाबाट प्रदेशसभामा एक सिट जितेको छ। गोरखाबाट नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका हुन्।

प्रदेश नम्बर ४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले दुईवटा प्रदेशसभा सदस्य जितेको छ। राजमोका बाग्लुङको क्षेत्र नम्बर १ को (ख) मा कृष्ण थापा र क्षेत्र नम्बर २ को (ख) बाट टेकबहादुर घर्ती विजयी भएका हुन्। प्रदेश ४ मा प्रदेशसभामा एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्, उनी हुन् गुण्डानाइके भनेर चिनिएका दीपक मनाङ्गे। यद्यपी उनलाई एमालेले समर्थन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.