​किन जित्दैनन् महिलाले?

|

काठमाडौं: भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। संविधानले प्रतिनिधिसभामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था गरे पनि यस निर्वाचनबाट भने प्रत्यक्षमा अत्यन्तै न्यून महिला उम्मेदवार मात्र निर्वाचित भएका छन्।

संविधानले सुनिश्चित गरेको भए पनि निर्वाचनमा भने राजनीतिक दलहरूले उम्मेदवार बनाउँदा नै निकै कम महिलालाई उम्मेदवार बनाए। प्रमुख दलले केही क्षेत्रमा उम्मेदवार बनाए पनि अधिकांश महिला उम्मेदवार पराजित भएका छन्।

हालसम्मको परिणामअनुसार ललितपुर- ३ बाट पम्फा भुसाल, रुकुम (पूर्व)बाट कमला रोका मगर, प्युठानबाट दुर्गा पौडेल, झापा- २ बाट पवित्रा निरौला खरेल र कञ्चनपुर- १ बाट विना मगर गरी पाँच जना महिला प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका छन्। स्याङ्जा क्षेत्र नम्बर- २ मा पद्मा अर्याल र सुनसरी- ३ मा भगवती चौधरी कडा प्रतिस्पर्धामा छन्। ती दुवै वाम गठबन्धनका उम्मेदवार हुन्।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका गोपालमान श्रेष्ठसँग प्रतिष्पर्धा गरिरहेकी पद्मा अर्यालले २०२० मतले लिड गरिरहेकी छन् भने पूर्व प्रधानमन्त्री विजयकुमार गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी भगवती चौधरीले जम्मा १५५ मतले मात्र लिड गरेकी छन्। मत भने अझै निकै नै गन्न बाँकी छ। यसरी हेर्दा यी दुवै क्षेत्रमा जीतबारे यसै भन्न सकिने अवस्था छैन।

प्रतिनिधिसभामा १५४ क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले नौ जना महिलालाई प्रत्यक्षमा टिकट दिएको थियो तर ती कुनै पनि महिलालाई जिताउन सकेन।

१०३ स्थान (सूर्य चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवारसमेत) मा उम्मेदवारी दिएको नेकपा एमालेले पाँच जना महिलालाई प्रत्यक्षमा टिकट दिएको थियो तर हालसम्म एक जनाले मात्र जितेकी छन्। दुई महिला कडा प्रतिस्पर्धामा छन् भने दुई जना महिला पराजित भएका छन्।

६० स्थानमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले चार जना महिलालाई उम्मेदवार बनाएको थियो। तीमध्ये माओवादी केन्द्रबाट चीन जना महिला विजयी भएका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्युठानमा विजयी भएकी छन्।

प्रतिनिधिसभाको निर्वाचनमा ९५ वटा दल र स्वतन्त्र गरी एक हजार ९४५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये २७ वटा पार्टीका १४६ जना मात्र महिला उम्मेदवार चुनावमा होमिए। तर चुनावमा भने हालसम्म पाँच जना महिला मात्र प्रतिनिधिसभामा निर्वाचित भएका छन्। प्रतिष्पर्धामा आएका दुई महिला विजयी भएमा जित्ने महिलाको संख्या सात पुग्नेछ।

किन उठ्दैनन् महिला उम्मेदवार?

निर्वाचनमा प्रत्यक्ष चुनाव लड्न टिकट नपाउनुका विभिन्न कारण रहेको ललितपुर- ३ बाट निर्वाचित माओवादी नेता पम्फा भुसाल बताउँछिन्। त्यसमध्ये महिला कसलाई टिकट दिने भन्ने सिफारिस गर्ने ठाउँमा नरहनु मुख्य कारण भएको भुसालको भनाइ छ। 'राम्रो आधार भएको ठाउँमा त्यहाँको पार्टीले महिलालाई सिफारिस गरेन', भुसाल भन्छिन्, 'निर्णय गर्ने जिल्ला इञ्चार्ज, प्रदेश इञ्चार्जको भूमिकामा रहेनन्, जसले त्यहाँ सिफारिस गर्छन्।' कतिपय स्थानमा महिलाहरू उठ्ने भनेर तयार भए पनि टिकट नपाएको भुसालले बताइन्।

अर्को कारण खर्चिलो भएका कारण पनि महिला चुनाव उठ्न नचाहने उनको बुझाइ छ। 'केही ठाउँमा महिलाहरू उठ्ने भनेर तयार हुनुभएको थियो। उहाँहरूले टिकट पाउनुभएन', उनी भन्छिन्, 'कतिपयको खर्चिलो छ, सक्दिनँ भन्ने पनि भयो। समानुपातिकमा भन्दा प्रत्यक्ष अलिक गाह्रो पनि हुने भयो।'

झापा- २ बाट निर्वाचित एमाले नेता पवित्रा निरौला खरेल महिलाले अवसर पाए त्यसको राम्रोसँग सदुपयोग गर्ने भए पनि अझै पनि अवसर दिन कञ्जुस्याइँ गर्ने प्रवृत्ति रहेको बताउँछिन्। महिला उम्मेदवार न्यून हुनुमा महिलाले गर्न सक्दैनन् भन्ने मानसिकता नै मुख्य बाधक रहेको उनको बुझाइ छ। 'महिलाले गर्न सक्दैनन् भन्ने मानसिकता सामान्य जनतामा मात्र नभएर नेतृत्वमा पुगिसकेकाहरूमा पनि छ। त्यसले गर्दा टिकट दिने बेला नै कम महिलाले पाउँछन्', उनी भन्छिन्, 'हामी आर्थिक रूपमा सक्षम छैनौँ, जसले गर्दा यी सबै कुरामा हामीलाई रोक्ने गर्दछ। हामी आफैँमा अात्मविश्वासको कमी पनि छ।'

कसले कहाँ जिते?

पम्फा भुसाल: ललितपुर क्षेत्र नम्बर- ३ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल विजयी भएकी छन्। भुसालले कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई एक हजार ८०७ मतले हराएकी हुन्। भुसालले २४ हजार ३६ प्राप्त गरेकी छन् भने अमात्यले २२ हजार २२९ मत ल्याएका छन्।

कमला रोका: वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएकी छन्। रोकाले १० हजार ४३४ मत ल्याएर कांग्रेसका हरिशंकर घर्तीलाई हराएकी हुन्। घर्तीले चार हजार ४०६ मत पाएका छन्।

विना मगर: कञ्चनपुर क्षेत्र नम्बर- १ बाट वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेता विना मगर विजयी भएकी छन्। विनाले ३८ हजार ४६७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत ल्याए।

पवित्रा निरौला खरेल: वाम गठबन्धनकी उम्मेदवार एमाले नेता पवित्रा निरौला खरेल झापा क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनी १३ हजार ७६७ मतान्तरमा विजयी भएकी हुन्। खरेलले ४५ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उद्धव थापाले ३२ हजार ५० मत ल्याए।

कसरी पुग्छ ३३ प्रतिशत?

प्रतिनिधिसभामा प्रत्यक्षमा नौ महिला उठाएको कांग्रेसले एक जना महिलालाई पनि जिताउन सकेन। यता, एमालेले पाँच जना महिला उठाए पनि अहिलेसम्म एक जनाले मात्र जितेकी छन् भने बाँकी दुई जनाको परिणाम आउन सकेको छैन। चार जना महिलालाई उठाएको माओवादी केन्द्रले चीन जना महिलालाई जिताउन सफल भएको छ भने वाम गठबन्धनबाट उठेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्।

संविधानले गरेको व्यवस्था पूरा गर्न दलहरूले ३३ प्रतिशत महिला पुर्‍याउनै पर्ने हुन्छ। यसरी हेर्दा प्रत्यक्षमा सबैभन्दा बढी कांग्रेसले समानुपातिक मतका आधारमा महिलालाई प्रतिनिधिसभाको सदस्य बनाउनुपर्ने देखिन्छ। त्यस्तैगरी एमाले, माओवादीले पनि समानुपातिकबाट महिला प्रतिनिधिको संख्या प्रतिनिधिसभामा पुर्‍याउनेछन्। संविधानअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.