|

महेश्वर अधिकारी-

    बारा : मध्यतराईका तीन जिल्लामा बारा, पर्सा, रौतहटका प्रतिनिधिसभा प्रदेशसभाका क्षेत्रमा भएको निर्वाचनमा विजयी हुने ज्वाला साह एक्ली महिला सांसद बनेकी छन्। बारा क्षेत्र नं.-३ ‘क’ मा वाम गठबन्धनको (माओवादी केन्द्र) तर्फबाट उम्मेदवार बनेकी उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका रामनन्द यादवलाई पराजित गर्दै मध्यतराईबाट निर्वाचित हुने एक्ली महिलामा नाम लेखाएकी हुन्।

    ११ हजार ७ सय ७१ मत पाएकी साहले १० हजार १ सय ४७ मत पाएका रामनन्द यादवलाई पराजित गरेकी हुन्। साह पूर्वराज्यमन्त्री र यादव कांग्रेका जिल्ला तहका नेता हुन्। मध्यतराईका बारा, पर्सा र रौतहट १२ प्रतिनिधिसभा र प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र छन्।

    को हुन् ज्वाला ?

    साह पूर्व भूमिसुधार र पर्यटन राज्यमन्त्री र पूर्वसभासद्समेत हुन्। ०६४ मा समानुपातिक सासंद बनेकी साह ०७० मा बारा-१ बाट पराजित भएकी थिइन्। विस्तृत शान्ति सम्झौतालगत्तै राजनीतिक मूलधारमा पार्टी भएपछि ज्वाला साह ०६४ सालमा सभासद् बनिन्। ०६७ सालमा भूमिसुधार राज्यमन्त्री भइन्।

    बारा र पर्सा जिल्लाको दुई–दुई वर्ष पार्टी इन्चार्जको समेत जिम्मेवारी सम्हालिसकेकी छिन् ज्वालाले। नेपालको सशक्त जनयुद्धको पूर्वलडाकु नेकपा माओवादीको विभिन्न तहको नेतृत्व गर्दै अहिले पोलिटब्युरो सदस्य छिन्। अ.ने.म.संघ (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष हुन्।

    ज्वाला ०५४ मा नेकपा माओवादीमा संगठित भइन्। त्यसवेला उनी जम्मा १६ वर्षकी थिइन्। ०५६ मा विद्यार्थीको जिल्ला कोषाध्यक्ष, त्यही साल महिलाको अध्यक्ष र जिल्ला कमिटी सदस्य बनिन्। ०५७ मा ज्वाला भूमिगत भइन्।

    किसान आन्दोलनकी उत्तराधिकारी

    ०३८ साल कात्तिकको महिना। नेपालमा किसान आन्दोलनले ठूलै रुप लिएको वेला। बाराको एउटा बिकट र सानो बस्ती सिहर्वा गाविस लौतनका सशक्त योद्धा खेदु साह त्यही किसान आन्दोलनका अगुवा थिए। पटक-पटक गिरफ्तारी, यातना र जेल जीवन उनका लागि नौलो थिएन।

    पत्नी श्रीपती देवी साह दुई जीउको थिइन्। त्यसअगाडि श्रीपतीका २ वटा छोरा बिभिन्न कारणले सानै उमेरमा बितिसकेका थिए। अब जन्मने सन्तानलाई खेदुले आफ्नो उत्तराधिकारीका रुपमा सोचेका थिए। खेदु साह किसानहरूको हक अधिकार र उन्मुक्तिका लागि सशक्त आन्दोलन चर्काउन किसान संगठन बनाउँदै थिए। सुराकीले त्यसवेलाको शाही सरकारलाई खबर गरेछन्। खेदु साह त्यसैवेला गिरफ्तारीमा परे। उनलाई चरम यातना दिइयो।

    २६ दिन थुनामा राखेर खेदुलाई वीरगञ्ज कारागार चलान गरियो। गर्भवती पत्नी श्रीपती अलपत्र परिन्। कार्तिक ११ गते उनी सुत्केरी भएर छोरी पाइन्। मधेसी समुदायमा छोरी जन्मँदा अझै पनि सहज छैन। त्यसवेला झन् श्रीपतीले कति सहनुपरेको होला? उनी धेरै रोइन्।

    काखमा छोरी च्यापेर श्रीपतीले जेलमा रहेका खेदुलाई भेट्न गइन्। आफ्नो उत्तराधिकारीको रुपमा अबको सन्तानलाई सोचेका खेदुले जेल भित्रबाटै छोरीको नाम उदघोष गरे ज्वाला।

    कम्युनिस्ट पृष्ठभूमि

    ज्वाला साह सानैदेखि क्रान्तिकारी र विद्रोही स्वाभावकी थिइन्। कक्षा ७ मा पढ्दैदेखि नै विश्व कम्युनिस्ट आन्दोलन र दर्शनका पुस्तकहरू बुबा खेदु साहले उनलाई पढ्न दिन्थे। घरमा मदन भण्डारी, माधव नेपाल, जीवराज आश्रितहरू बाक्लै रुपमा आउथे। नेताहरूले ज्वालालाई काखमा राखेर अध्ययनतर्फ हौसाउथे।

    संघर्षको कथा

    ०६० माघ २९ गते भएको चर्चित खुजुरिया आक्रमणमा ज्वालाले नयाँ जीवन पाइन्। उनका तीन जना सहयोद्धाले ज्यान गुमाए। खजुरियाको जमुनी खोलामा हाम फालेर ज्वालाले ज्यान बचाएकी थिइन्। त्यसवेला ज्वाला गर्भवती थिइन्। गर्भवती हुँदासमेत ज्वालाले एकदिन पनि बिदा बसिनन्।

    सुरक्षा थ्रेट बढ्दै गएपछि उनलाई पार्टीले भारतको एउटा गाउँमा लगेर राख्यो। त्यसवेला उनको साहारा थिइन्–कान्छी आमा कलापती देवी। उनले भारतमै छोरालाई जन्मदिइन्। छोरा बिरामी सिकिस्त भएपछि भारतको मोतिहारी अस्पताल पुगेकी ज्वालालाई भारतीय प्रहरीको सहयोगमा नेपाली सेनाले पक्राउ गर्न पुग्यो।

    त्यहाँबाट पनि ज्वाला उम्कन सफल भइन्। सुत्केरी अवस्थामा समेत उनले राम्रो स्याहार सुसार पाइनन्। पिठ्युँमा बच्चा र हातमा बन्दुक बोकेर जनताको मुक्तिका लागि लडाइँ गर्दै हिँड्ने क्रममा धेरै पटक ज्वाला मरेर बाचेकी छन्।

    भूमिगत अवस्थामा ज्वाला एसएलसी परीक्षामा सामेल भइन्। सुराकी पाएपछि सेना परीक्षा केन्द्र पुग्यो, गिरफ्तार गर्न जिल्लाबाटै टोली खटियो। निकै चलाखीका साथ उनी त्यहाँबाट उम्किन्।

    परीक्षा छाडेर हिँडेपछि त्यो दिनको परीक्षा रद्द भयो। उनले मौका परीक्षामा एसएलसी पास गरिन्। सभासद् बनेपछि मात्र उनले पढाइलाई निरन्तरता दिइन्। प्रवीणता प्रमाणपत्र तह उत्र्तीण गरिन्। अहिले उनी स्नातक अध्ययनरत छन्।

    अन्तर्जातीय जनवादी विवाह

    ०६० मा ज्वालाले अन्तर्जातीय विवाह गरिन्। जनयुद्धकै सहयोद्धा अमृत शर्मा बजगाई ‘सिर्जन’ सँग उनको जनवादी विवाह भयो। त्यसवेला ज्वाला बाराको जिल्ला सेक्रेटरी थिइन्।

    साहले गरेका महत्वपूर्ण काम

    ०६७ मा ज्वाला साह भूमिसुधार राज्यमन्त्री कलैयाको नापी र मालपोतको भवन निर्माण भयो। नेपालमै पहिलोपटक बैंक काउन्टर स्थापना सुरु गरिन्। लालपुर्जामा श्रीमान–श्रीमती दुवैको हक रहने व्यवस्था कायम गरिन्। सुकुम्बासी समस्या समाधानका लागि विशेष पहल गरिन्।

    डुमरवाना, फत्तेपुर, सखुवाघाट, सिमरा क्षेत्रको शैक्षिक संघसंस्था, बाटोघाटो पुल पुलेसा र तटबन्धन निर्माणमा ज्वाला साहको ठूलो योगदान छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.