|

भद्रपुर, (झापा) : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दसैंलगत्तै गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको केही दिनमा नै कांग्रेसले पनि राप्रपा लगायतका अन्य दलसँग मिलेर लोकतान्त्रिक गठबन्धन निर्माणको घोषणा गर्‍यो।

त्यसै अनुसार कांग्रेस र राप्रपाबीच सिट बाँडफाँट भयो, तर झापा ३ मा कुरा मिलेन। राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले रोजेको क्षेत्र झापा ३ बाटै कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि उम्मेदवारी दिने घोषणा गरे। सिटौलाको नाम समानुपातिक निर्वाचन पद्धतिको सूचीमा राखे पनि उनले प्रत्यक्ष निर्वाचन लड्ने दावी छाडेनन्।

अन्तत राप्रपा र कांग्रेसबीच देशका अन्य ४ ठाउँमा चुनावी तालमेल भए पनि झापा ३ मा प्रतिस्पर्धा गर्नेमा दुबै दल पुगे। सिटौला त्यतिबेला आश्चर्यचकित भए जब उम्मेदवारी दर्ता हुने दुई दिनअघि वामपन्थीसंग लिङ्देनको सहमति भयो। झापा ३ राप्रपालाई छाडिदिए झापा जिल्लासहित मेची अञ्चलभरी राप्रपाले वामपन्थीलाई सघाउने। यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहमत भए र, एमालेका उम्मेदवार पुष्पराज पोखरेललाई पछि हटाएर लिङ्देनलाई सघाउने गरी सहमति गरे।

झापा ३ मा राप्रपाले बाजी मार्‍यो। राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन सांसद निर्वाचित भए। लिङदेनले उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका सिटौलालाई १३ हजार ४ सय ४३ मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बने र पार्टीको चुनाव चिन्ह गाईलाई सुरक्षित गरे। किनभने कांग्रेससँगको तालमेलमा चुनाव लडेका राप्रपाका अन्य चार उम्मेदवार पराजित भएका छन्।

यसअघि दुई पटक सांसदीय निर्वाचनमा यस क्षेत्रबाट लिङदेन पराजित भएका थिए। लिङ्देनले सांसदमा प्रतिनिधित्व गर्न अवसर मात्रै पाएनन्, उनले संसदमा पार्टीको अस्तित्व समेत बचाए। अहिलेसम्म प्राप्त  समानुपातिक निर्वाचन पद्धतिको नतिजामा राप्रपाले थ्रेस होल्ड कटाएको छैन। प्रत्यक्षमा एक सिट जितिसकेको राप्रपाले समानुपातिकमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ कटाए राष्ट्रिय दलको मान्यता पाउनेछ।

निर्वाचित भएपछि घरदैलोमा व्यस्त

२०५६ सालको संसदीय निर्वाचन र २०७० सालका दोस्रो संविधानसभाको निर्वाचनमा कृष्णप्रसाद सिटौलासंग राजेन्द्र लिङ्देन पराजित भएका थिए। तर, यसपटक सिटौलालाई भारी मतान्तरले पराजित गरेको खुशियालीमा लिङ्देन झापा क्षेत्र नम्बर ३ मा विजयउत्सव मनाउनुका साथै मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त छन्। लिङ्देनले आमसभा सम्बोधन गर्दा भन्थे ‘एक पटक अवसर दिनुहोस्, यस क्षेत्रको विकास कसरी गर्नुपर्छ म गरेर देखाउँछु।’ उनले बोलेको अवसर मतदाताले सुनेर यसपल्ट निर्वाचित गराएपछि झापा ३ को नगरपालिका तथा गाउँपालिकाको प्रत्येक वडामा पुगेर मतदातालाई धन्यवादसहित आभार प्रकट गर्न थालेका छन्।

झापा– ३ को विकास लिङ्देनको चुनौती

२०६० सालमा तत्कालिन जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित भएका लिङ्देनले त्यसबेला झापा ३ का गाउँमा केही विकास निर्माणको काम गर्ने अवसर पाए। उनले त्यसबेला सडक निर्माणदेखि विद्युत विस्तार गरे। तर, लामो समय पदमा बसेर काम गर्ने पाएनन्। क्षेत्र नम्बर ३ झापाको अन्य क्षेत्रभन्दा विकासमा पछि छ। यस क्षेत्रको ग्रामीण भेगमा कालोपत्रे सडक छैन। बाटोघाटो, खानेपानी र शौचालयको अवस्था पनि नाजुग छ।

चाराआली भद्रपुर हुदै केचना सडक निर्माण कार्य हालै सुरु भएको छ। तर, यस सडकले पनि गति लिएको छैन। बहुप्रतिक्षित मेची पूल, हुलाकी राजमार्ग निर्माणको काम पनि सुस्त छ। स्वास्थ्य चौकी निर्माण, मेची नदी झोलुगे पूल, नदी तटबन्धनले पनि तिव्रता पाएनन्।

यस्तो अवस्थामा लिङ्देन यस क्षेत्रबाट निर्वाचित भएकोले उनले यस क्षेत्रको विकासमा कस्तो भूमिका निर्वाह गर्छन्, भन्ने चासोको विषय बनेको छ। लिङ्देनको राजनीतिक भविष्य पनि यसै क्षेत्रमा अडिएको छ। पाँच बर्षमा उनले जनताको मन जित्न सक्छन् कि त्यो हेर्न बाँकी छ। लिङदेन भन्छन् ‘जनताले मलाई विश्वासका साथ मत दिए निर्वाचित गराएका छन्, यस क्षेत्रको विकास नै मेरो पहिलो प्रथामिकतामा हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.