|

पाँचथर : पाँचथरको प्रदेशसभा ‘ख’ बाट निर्वाचित इन्द्रबहादुर आङ्बो (मौसम) ले एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफू योग्य रहेको दाबी गरेका छन्। माओवादी केन्द्रको एक नम्बर प्रदेशको सचिवालयले आफूलाई नै मुख्यमन्त्रीमा अघि सारेकाले स्वाभाविक दाबेदारी रहेको बताए।

थाहा संवाददातासँग कुराकानी गर्दै मौसमले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संयुक्त वाम गठबन्धनको तर्फबाट चुनाव लड्ने क्रममा एक नम्बर प्रदेशमा माओवादी केन्द्रको चुनावी नेतृत्व आफैँले गरेकोले मुख्यमन्त्रीमा दाबी गर्नु कुनै अस्वाभाविक नभएको पनि जिकिर गरे।

वाम गठबन्धनले प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने क्रममा माओवादी केन्द्रलाई एक नम्बर प्रदेशको नेतृत्व गर्न गठबन्धनभित्र सहमति भए आफू नै उम्मेदवार हुने बताए। तर, गठबन्धनका दुई ठूला दलका नेतृत्वले जो दाबेदारको पक्षमा निर्णय गरे भने पनि बाधक नबन्ने बताए।

एमालेको एक नम्बर प्रदेशसभा सदस्यहरु शेरधन राई र भीम आचार्यले पनि दाबेदारी प्रस्तुत गरिरहेका वेला मौसमले पनि दाबेदारी प्रस्तुत गरेका हुन्। ‘शेरधन र भीम कमरेडले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु अस्वाभाविक होइन।’ उनले भने, ‘मैले पनि मुख्यमन्त्रीमा योग्य भएकोले दाबेदारी प्रस्तुत गरेको हुँ।’

एक नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ५६ सिटमध्ये माओवादी केन्द्रले १० सिट र नेकपा एमालेले ३६ जितेका छन्। यसरी दुई पार्टीले गरी ४६ सिटमा जित हासिल गरेकोले बहुमतमा सरकार गठन हुने अवस्था छ।

मुख्यमन्त्रीमा दावी गरेका मौसमले पाँचथरको प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सुरेन्द्रकुमार दाहाललाई पराजित गरेका थिए। उनी माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.