आयोगले जारी गरेको सीमाको आधाभन्दा कम खर्चमै सकियो चुनाव

|

काठमाडौं : प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भर्खरै सम्पन्न भएको छ। चुनावका सन्दर्भमा उम्मेदवारले निर्वाचन आयोगले दिएको अधिकतम् खर्चको आचारसंहिताभन्दा बढेर करोडौं खर्च गरेको खबर आइरहेका वेला एमाले नेता लालबाबु पण्डितले अत्यन्तै न्यून खर्चमा चुनाव जितेका छन्। उनले निर्वाचन आयोगले जारी गरेको सीमाको आधाभन्दा कम खर्चमा चुनाव जितेका हुन्।

पण्डितका स्वकीय सचिव तथा निर्वाचन प्रतिनिधि ओशिम आलमले १३ लाख १६ हजार १ सय ७८ रुपैयाँले मात्र चुनाव अवधिभर खर्च गुगेको जानकारी दिएका छन्। जसअनुसार नेता पण्डितले मतदाता नामावली खरिदमा १५ हजार, सवारीसाधन खर्च २ लाख ४० हजार, सवारी इन्धन ९८ हजार ५ सय ५०, प्रचारप्रसार सामग्री २ लाख ८० हजार ६ सय १५, ढुवानी ३४ हजार ४ सय ६०, गोष्ठी कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४ रुपैयाँ खर्च गरेका छन्।

यसैगरी, मिडिया प्रचारप्रसारमा १ लाख ८७ हजार, कार्यालय सञ्चालनमा १ लाख २० हजार ४ सय ७५, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च भएको छ। वैदेशिक रोजगारका क्रममा विदेशमा रहेका नेपाली युवाहरुले नेता पण्डितलाई निर्वाचनमा जिताउनका लागि विदेशबाट सहयोग रकम पठाएका थिए।

पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहेका नेता पण्डितले हार्नु हुँदैन भनेर विदेशबाट सहयोग रकम आएको पण्डितका स्वकीय सचिव आलमले जानकारी दिए। 'लालबाबु जस्ता नेताले जित्यो भने मात्र नेपालमा विकास हुन्छ र हामी आफ्नै देशमा फर्कन पाइन्छ, आलमले भने, लालबाबुले हारे इमानको राजनीतिले तथा नेपालीको स्वाभिमानले हार्छ भनेर उहाँहरुले सहयोग रकम पठाउनुभएको छ।'

पण्डितलाई जिताउनका लागि तेह्रथुममा जन्मिएर हाल अस्‍ट्रेलियाको सिड्नीमा बस्दै आएकी नेपाली चेली राधिका पोखरेलले एक्लै ५ लाख रुपैयाँ सहयोग गरेकी थिइन्। 'पण्डितजस्ता निष्कलंक व्यक्तिले चुनाव जितेको हेर्ने इच्छाले सहयोग गरेको हो, उनले भनेकी छन, 'पण्डितजस्ता व्यक्तिका लागि थोरै भए पनि चुनाव खर्च पठाउन पाउँदा आफूलाई गर्व लागेको छ।' पण्डितलाई जिताउनमा नेपालमा पढ्दै आएका नेपाली विद्यार्थीहरुले समेत थोरै-थोरै रकम संकलन गरेर सहयोग गरेको आलमले बताए।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका एमाले उम्मेदवार पण्डितले कांग्रेस नेता डा. शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरेका हुन्। एमाले पोलिटब्युरो सदस्य पण्डित ०७० मा सामान्य प्रशासन मन्त्री भएका थिए। ०४६ र ०५६ को चुनावमा विजयी भएका पण्डित ०६४ को चुनावमा समानुपातिक तर्फबाट सभासद् भएका थिए।

आफ्ना काम र शालीन जीवनशैलीका कारण लगातार चर्चामा रहँदै आएका पण्डित सामान्य प्रशासन मन्त्री हुँदा ग्रीनकार्ड, पिआरलगायत विदेशको स्थायी बसोवास अनुमतिपत्र लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य रहने कानुन ल्याउन सफल भएका थिए। उनले नयाँ गाडी किन्न भनेर अर्थ मन्त्रालयबाट निकासा भएको ८० लाख रुपैयाँ फिर्ता गरेपछि उनको इमानदारीको कद झनै अग्लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Rs.1000 /-. ta maile pani sahayog gareko