|

भद्रपुर (झापा) : साविक मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोड नगरपालिकाका आसपासका सडक विस्तार सुरु गरिएको छ। पूर्व–पश्चिम राजमार्गसहित बिर्तामोड नगरको क्षेत्रमा अतिक्रमणमा परेका सडक साँघुरा हुँदा सवारी दुर्घटनाको जोखिम बढेपछि शुक्रबारदेखि सडक विस्तार सुरु गरिएको हो।

बिर्तामोडका स्थानीयले भवन तथा पसल बनाउँदा सडक अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेको पाइएपछि सम्बन्धित निकायले हटाउन पटक–पटक आग्रह गरेको थियो। तर घरधनीहरूले हटाउन अटेर गरेपछि सडक विस्तारको काममा डोजर प्रयोग गरिएको छ। 

बिर्तामोड नगरपालिकासहित सडक डिभिजन कार्यालय दमक, उद्योग वाणिज्य संघ बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न संघसंस्थाको पहलमा बिर्तामोडस्थित भद्रपुर–चन्द्रगढी सडक खण्डमा डोजर प्रयोग गरिएको जिल्ला ट्राफिक प्रमुख राजेश राईले बताए।

पटक–पटक आग्रह गर्दा समेत अटेर गरेपछि सडकलाई विस्तारसँगै व्यवस्थित बनाउन डोजर चलाएको उनले बताए। ‘सडक फराकिलो भएपछि नगर क्षेत्रमा पार्किङलाई सात दिनभित्र व्यवस्थित गरिनेछ, उनले भने, ‘नगरपालिकाले समेत जग्गा खोज्ने काम सुरु गरिसकेकोले अब सडक छेउमा पार्किङ गर्न दिँदैनौ।’

ट्राफिक प्रहरी कार्यालयले ०७३ जेठ २७ गते सडक क्षेत्रभित्र रहेका संरचना हटाउन  विद्युत\ प्राधिकरण र नेपाल टेलिकम बिर्तामोड शाखालाई लिखित रूपमा आग्रह गरेको थियो। तर, सरकारी पक्षबाटै संरचना हटाउनमा ढिलासुस्ती भएपछि सडक विस्तारमा समस्या उत्पन्न भएको छ। 

नगरपालिकाले सडक विस्तार गर्न थालिएको यस अभियानलाई द्रुत गतिमा अघि बढाउने बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए। 'सडक विभाग र ट्राफिक प्रहरीको सहयोगमा सडक फराकिलो पार्ने काम भइरहेको छ',शिवाकोटीले भने, ‘बिर्तामोडस्थित मुक्ति चोकको चारै दिशामा दुई सय मिटर क्षेत्रमा सवारी पार्किङ तथा रोक्न निषेध गरिनेछ।‘  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.