|

इलाम : मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा सडक क्षेत्र १५ मिटर कायम गर्न सुरु गरिएको छ। नगरपालिकाले डिभिजन सडक कार्यालय इलाम र नापी कार्यालयका प्राविधिककको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पालटांगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ बायाँ सडक ऐन अनुसार क्षेत्र कायम गर्न लागिएको हो।

मुख्य सडक अतिक्रमण समस्या समाधान समितिका संयोजक शिव बस्नेतले पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा रौनक थप्नका लागि पहिलो चरणमा सडक विस्तारको लागि 'ट्यागिङ' सुरु गरेको बताए। नगरपालिकाले सडक क्षेत्र विस्तार गर्न लागेको सो क्षेत्र नेपाल चिया विकास निगम अन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएको कन्याम चिया बगानको क्षेत्रमा पर्दछ।

सडकको क्षेत्र छुट्याइसकेपछि चियाका बुट्टा काट्न सुरु गर्ने र तत्काल सडक क्षेत्रलाई खन्ने काम सुरु गरिने उनले बताए। कन्याम क्षेत्रमा सडक विस्तार गर्दा सडकपेटीमा रहेका कतिपय पसलहरु पनि हट्ने देखिएको नापी कार्यालय इलामका सर्वेक्षक मनोजकुमार यादवले जानकारी दिए। उनले भने 'सडक अतिक्रमण गरेर बसेको सो क्षेत्रका घरहरु भत्किने देखिन्छ।'  विभिन्न स्थानमा सडकको लगत कट्टा गरिए पनि कतिपयले लगतकट्टा समेत नगरेको उनले बताए।

सडक ऐन २०३१ अनुसार मेची राजमार्ग विस्तार गर्नका लागि अतिक्रमण गरिएका क्षेत्रमा पर्ने संरचनाहरु हटाइने डिभिजन सडक कार्यालयका प्रमुख खड्गप्रसाद श्रेष्ठले जानकारी दिए। उनले भने 'सार्वजनिक सडक ऐन कार्यान्वयन गर्ने काम हाम्रो भएकाले सडकलाई १५ मिटरको बनाउनका लागि नगरपालिकासंग सहकार्यमा अघि बढाइएको हो।'

संयोजक बस्नेतले कन्याममा सडक विस्तारपछि व्यापारिक केन्द्र फिक्कलमा पनि सडक विस्तारको काम सुरु हुने बताए। दुई दिनको सडक नापजाँचपछि पहिलो चरणमा राजमार्ग अतिक्रमण हटाउन १५ दिने सूचना निकालेर कन्याम चिया वगान क्षेत्रबाट सडक विस्तारको काम सुरु गर्ने र दोस्रो चरणमा हर्कटे क्षेत्रमा सडक विस्तार गरिने भएको छ।

हर्कटे बजार क्षेत्रमा राजमार्ग अतिक्रमण गरेर बनाइएका दर्जनौं घरहरु भत्किने बस्नेतले जानकारी दिए। सूचना दिएपछि स्थानीयले आफ्ना संरचना नहटाए नगरपालिका आफैले हटाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.