सामाजिक सञ्जालका भिताहरु पुरै तीजमय बनिसकेका छन्। सडक, चोक र गल्लीमा राता सारीमा तीज कार्यक्रममा हिँड्नेहरुको संख्या बाक्लिइ सकेको छ। रेडियो, टेलिभिजन र मोबाइलमा तीजका भाका बज्न थालेको धेरै दिन भैसकेको छ। हिन्दु नारीहरुलाई यस वर्षको तीजले छोपिसकेको छ।
भदौ महिना लागेसँगै तीजको अवसर पारेर विभिन्न कार्यक्रम र उत्सव सुरु भइसकेका छन्। विभिन्न संघसंस्था फेसन सो, दरखाने कार्यक्रम धमाधम आयोजना गर्न व्यस्त देखिएका छन्। विशेषगरी सहर बजारमा तीज आउनु अगावै दर खाने भन्दै पार्टी प्यालेस र रेस्टुराँमा धाउने चलन चलेको छ। हरेक वर्ष तीज पर्व भड्किलो भएको गुनासो पनि सुनिन्छ। अनावश्यक खर्च नगर्न र महिनौँ अघिदेखिको तामझामलाई रोक्न प्रशासनले पनि सार्वजनिक सूचना गरिरहेको हुन्छ।
तीज नेपाली हिन्दु नारीले मनाउने विशेष चाड हो। विवाह भएर गएका चेलिबेटीहरुलाई बोलाएर व्रतको अघिल्लो दिन माइतिमा दर खुवाउने, नाजगान गर्ने गरिन्छ। तिजसँग विभिन्न सामाजिक सांस्कृतिक पक्ष पनि जोडिएका छन्।
हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी कठोर व्रत लिई पूजा गरेकोले महादेव प्रशन्न भएर उसको सारा मनोकामना पूरा गरिदिएको पौराणिक कथा छ। भदौ शुक्ल तृतीयाको दिन महिलाहरु निरहार व्रत बसी विवाह भएकाहरुले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र परिवारको सुख शान्तिका लागि व्रत बस्छन भने अविवाहित नारी पनि राम्रो पति पाउँ वा आफ्नो सारा मनोकामना पूरा हुने विश्वासका साथ व्रत बस्ने गर्दछन्।
तिजमा खाइने दर, लगाइने वश्त्र, गरगहना, तीज गीतहरुको हिन्दु नारीहरुको जीवनमा विशेष महत्व छ। नाजगान गरी तीजको दिन पानी सम्म नपिइ निरहार बसिने व्रत र एक आपसमा मिलेर गरिने नाचगानले आपसी सदभाव र मेलमिलावलाई प्रोत्साहन गर्ने गरेको पाइन्छ।
सामान्यतया दर तीजको व्रतको अघिल्लो दिन खाने भनिएपनि सहर बजारमा आजभोलि महिना दिन अघि देखि नै विभिन्न कार्यक्रम आयोजना साथ मदिरा र भड्किला गीत सहितका दर खाने कार्यक्रम आयोजना भैरहेको छ। हुन त तीज अगावै पनि टोल छिमेकका दिदी बहिनी जम्मा भै नाचगान गर्नु खानपिन गर्नु, एकअर्काका भावना आदान प्रदान गर्नु नकारात्मक हैन तर संस्कृतिलाई नै विकृत पार्ने गतिविधिलाई प्रोत्साहन गर्नु पनि त गलत हो।
समाज परिवर्तनशील छ। समय अनुरुप कतिपय कुरालाई परिर्माजित गर्दै लैजानुपर्छ। जस्तो अहिले तीजमा गाइने गीत र दर खाने चलनमा आएको परिवर्तन तर संस्कृतिलाई अपव्याख्या गर्ने गरी भड्किला गतिविधिलाई परिवर्तनको नाम दिनपनि त मिल्दैन नि। आधुनिकताको नाममा हाम्रो मौलिक पहिचानको तीज पर्वलार्इ भड्किलो पर्वतिर रुपान्तरण गरिँदैछ। यो दुखद् पक्ष हो। क्षणिक रमाइलोको नाममा पर्वको खास महत्वको धज्जी उडाउनु जायज हो र?
कुनै समय थियो जुनबेला विवाह भएर गएका चेलीलाई घरमा बोलाएर तीजको व्रतको अघिल्लो दिन खीर, घिउ, अचार, तामाको तरकारी आदि परिकार बनाएर खुवाउने चलन थियो तर अहिले दरको नाममा पार्टी प्यालेस र रेस्टुराँमा भव्य भोज गरिन्छ। मौलिक गीत भन्दा पनि भड्किला र उरन्ठेउला गीतमा नाच्ने गरेको बाहुल्यता बढ्दै गएको देख्न सकिन्छ। पछिल्ला वर्षमा तीज गीतमा भित्रिएको छाडापनले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ।
पछिल्ला वर्ष बजारमा दर्जनौँको संख्यामा एल्बम निस्केका भएपनि वास्तविक तिजको मर्म बोकेका भाका पाउन भने मुस्किल छ। तीज गीतमा उच्छृङ्खल, छाडा शब्दावलीको प्रयोग बढेको छ। अहिलेका तीज गीत सामाजिक मर्यादा, धार्मिक मूल्य, मान्यता र अनुशासनका सीमा नाघेर रचिएको पाइन्छ। यस्ता विकृतिलाई बढवा दिने गीत निरुत्साहित गर्ने जिम्मा कसको? हामी सुन्नेहरुको वा सरकारी निकायको?
पर्वलाई संरक्षण गर्नु र पुस्तौँसम्म जोगाई राख्नु हाम्रो कर्तव्य हो। पर्वको अस्तित्व नै समाप्त हुने शैली अवलम्बन गर्दा चाडको धार्मिक, सांस्कृति एवं पौराणिक मान्यतामा कालान्तरकमा कस्तो प्रभाव पर्ला सोच्ने बेला आएको छ। नेपाली हिन्दु महिलाहरुले मनाउने पवित्र चाडमा यसरी नै विकृति बढ्ने हो भने भावी पुस्तामा हस्तान्तरण हुँदा तीज फगत मनोरञ्जन गर्ने पर्वमा मात्र सीमित नहोला भन्न सकिन्न।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजमा देखिएका विकृतिलाई निरुत्साहित गर्दै धर्म, संस्कृतिको मौलिकता कायम राख्दै मनाउन आवश्यक देखिन्छ। तीजका नकारात्मक पक्षलाई मात्र केलाउन भन्दा सकारात्मक पक्षका बारेमा नजानेकालाई बुझाउन आवश्यक देखिन्छ। तीजले आपसी सद्भाव, आपनत्व र हर्ष उल्लासलाई साथ लिएर आएको हुन्छ। आ-आफ्नो क्षमता अनुसार तीज मनाऔँ। अरुको देखासिकीमा नलागी जे जति छ त्यसैमा रमाएर तीज मनाउँ। तीजका विकृतिमा आँखा नचिम्लौँ। तीजको शुभकामना !
तपाईंको ईमेल गोप्य राखिनेछ ।