|

रसुवा : रसुवामा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकामध्ये १२ जनाले मात्र चुनावी खर्च विवरण बुझाएका छन्। 

२३ जना उम्मेदवारमध्ये १२ जना उम्मेदवारले मात्र जिल्ला निर्वाचन कार्यालय रसुवामा चुनावी खर्च विवरण बुझाएका हुन्। मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनमा विजयी तीन जना सांसदसहित १२ जना उम्मेदवारले मात्र खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी नवीन खालिङले बताए। उनले भने, ‘परिणाम आएको मितिले ३५ दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ,  २७ दिन बित्दा जम्मा १२ जनाले मात्र खर्च विवरण पेस गरेका छन्।’

कसले कति खर्च गरे?
जिल्ला निर्वाचन कार्यालय रसुवामा पेस गरेको खर्च विवरणअनुसार वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेकपा एमालेका जनार्दन ढकालले १५ लाख ३७ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ। त्यस्तै वाम गठबन्धनबाट प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका नेकपा एमालेका कन्र्याल तामाङले १४ लाख ३६ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। वाम गठबन्धनबाटै प्रदेशसभा ‘ख’मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद गोतामेले चार लाख ६२ हजार रुपैयाँको खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। 

त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्जिनियर मोहन आचार्यले २४ लाख ६९ हजार ५०० रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ। लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘क’मा उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रभात तामाङ लामाले १४ लाख ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। 

त्यस्तै, लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा ‘ख’का उम्मेदवार बनेका नयाँ शक्ति पार्टी नेपालका प्रेमबहादुर तामाङले १३ लाख ८० हजार ६०० रुपैयाँ खर्च भएको विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। 

त्यसैगरी प्रतिनिधिसभामा स्वतन्त्रबाट उम्मेदवारी दिएकी शर्मिला थापा क्षेत्रीले दुई लाख ३२ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पेस गरेकी छन्। स्वतन्त्रबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका वीरेन्द्रकुमार उप्रेतीले एक लाख १३ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। स्वतन्त्रबाटै प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका शिवबहादुर लामिछानेले ९४ हजार रुपैयाँको खर्च विवरण पेस गरेका छन्। स्वतन्त्रबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका कविराज डंगोलले ७१ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। 

स्वतन्त्रबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका बिजनकुमार पौडेलले ७१ हजार ६०० रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् भने स्वतन्त्रबाटै प्रतिनिधिसभाका उम्मेदवार बनेका सुजन डंगोलले ९१ हजार ५०० रुपैयाँ खर्च भएको विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी खालिङले जानकारी दिए। 

तोकिएको भन्दा बढी खर्च
निर्वाचन अवधिभर निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमाभित्र रहेर खर्च गर्नुपर्ने भए पनि रसुवामा भने सीमा नाघेर खर्च भएको बताइएको छ। जिल्ला निर्वाचन कार्यालय रसुवामा निर्वाचन आयोगको सीमाभित्र रहेर खर्च गरेको विवरण पेस गरे पनि त्योभन्दा बढी खर्च गरेको बताइएको हो। 

निर्वाचनको खर्च विवरण बुझाएका उम्मेदारहरूले पनि बिल नदिई कुल खर्च विवरणको खाका मात्र बुझाएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। 
निर्वाचन आयोगले निर्धारण गरेअनुसार प्रतिनिधिसभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.