|

जुम्ला : जुम्लामा आइतवार यो वर्षकै सबैभन्दा कम तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेड पुगेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार पुसको अन्तिम हुन लाग्दासमेत हिउँ नपरेका कारण तापक्रम निरन्तर ओर्लिएको हो। 

चिसोका कारण स्थानीय सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। खोलाका किनारमा बरफ जमेको छ। पाइपमा पानी जमेपछि खानेपानीका लागि समस्या भएको छ। चिसोका कारण न्यूमोनिया र दमका रोगीहरु बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। रुघाखोकीका बिरामीको चाप बढेको  अस्पतालले बताएको छ ।

हिउँ नपरेका कारण किसानहरु बाली उत्पादन नहुने हो कि भन्ने चिन्तामा छन्। अहिलेसम्म पानी नपरेकाले उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए।

चिसोका कारण गाडी चलाउनसमेत समस्या भएको चालकहरूको गुनासो छ। ‘ट्यांकरमा रहेको तेल नै जमेपछि गाडी चलाउन कठिन भयो’, गंगामाला देउती बजै ढुवानी सेवाका गाडी चालक देवबहादुर थापाले भने, ‘ तेल जमेकाले बिहान ४ बजेको नेपालगञ्ज यात्रा नै रोकियो।’

आगो बालेर ट्यांकर तताएर तेल तरल बनाएपछि बल्ल गाडी चलाउन सकिएको थापाले बताए। यसैकारण २\३ दिन यता बिहानै गाडी चल्न सकेको छैनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.