|

  • विकास डाँगी-

दाङ : दाङमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र नेपाल प्रहरी विजयी भएका छन्। 

दाङको घोराहीमा बुधबार भएको प्रतियोगीतामा पूर्वाञ्चल क्षेत्रीय टिमलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा नेपाल आर्मीका १४ नम्बर जर्सी लगाएका खेलाडी विवेक बस्नेतले १७औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। 

सुरुदेखि नै पूर्वाञ्चल क्षेत्रीय टिममाथि हावी भएको आर्मीले खेलको ८८औँ मिनेटमा दोस्रो गोल गरेको थियो। आर्मीका १६ नम्बर जर्सी लगाएका खेलाडी दीपकुमार लामाले गोल गर्दै क्लवलाई २ गोलको अग्रता दिलाएका थिए। 

त्यस्तै, तुलसीपुरको अरनिको मैदानमा भएको अर्काे खेलमा नेपाल प्रहरीले पश्चिमाञ्चललाई ४–० ले हराउँदै विजयी भएको हो। खेलको २८औँ मिनेटमा १४ नम्बर जर्सी लगाएका नेपाल प्रहरीका नीरकुमार लामाले पहिलो गोल दिलाए भने ३१औँ मिनेटमा ९ नम्बर जर्सी लगाएका नेपाल प्रहरीका सुमन लामाले दोस्रो गोल दिलाएका थिए। त्यस्तै, खेलको ४३औँ मिनेटमा  नेपाल प्रहरीका टिम क्याप्टेन भोला श्रीवालले तेस्रो गोल  दिलाएका थिए। खेलको ६४औँ मिनेटमा ९ नम्बर जर्सी लगाएका सुमन लामाले अर्काे गोल दिलाए। 

मंगलबारदेखि सुरु भएको २८औँ राष्ट्रिय फुटबल प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको छ। पाँचवटा क्षेत्रीय र तीनवटा विभागीय टिमको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत मंगलबार सुदूरपश्चिमाञ्चल र सशस्त्र प्रहरीको टिम विजयी भएका दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बिहीबार सेमिफाइनलका लागि त्रिभुवन आर्मी क्लव र सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिमबीच खेल हुनेछ। अर्काे खेल नेपाल प्रहरी र सशस्त्र प्रहरीका एपीएफबीच हुने अध्यक्ष श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.