|

उदयपुर : नगरपालिकाको बजार क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण हुँदा पनि त्रियुगा नगरपालिका मौन बसेको छ। नगरपालिकाको गाईघाटमा रहेको हवाई फिल्डको झण्डै दुई बिघा जग्गामा स्थानीयले घर टहरा बनाएर अतिक्रमण गर्दा पनि नगरपालिका मौन बसेको हो।

त्रियुगा नगरपालिका-१३ मा पर्ने हवाई फिल्डको थारुहट रंगशाल र मदन भण्डारी अतिथि सदन भवन बन्दै गरेको छेउछाउमा अनुमानित २ विघा सार्वजनिक जग्गामा स्थानीयले घेरा गरेर अतिक्रमण गरेका छन्। कसैले घर बनाएका छन् भने कसैले बाँसका भाटाले घेरेर ग्राहक खोजी गरी विक्रीसमेत गरिरहेको स्थानीयको भनाइ छ।

स्थानीय रामा दाहालले विमानस्थलको नाममा रहेको सरकारी जग्गा अतिक्रमण पर्दा पनि स्थानीय सरकार मौन बसेको आरोप लगाएकी छन्। ‘नगरपालिका प्रमुख र वडा अध्यक्षलाई जानकारी दिँदा पनि बेवास्ता गरेको देख्छु,’ उनले भनिन्, ‘कसले बनाएका हुन् घर टहरा थाहा छैन, सबै नयाँ मान्छे आएर घर टहरा निर्माण गरेका छन्, कोही पुराना पनि छन्।’

०३१ तिर विमानस्थल निर्माण गर्ने भनेर तत्कालीन हवाई फिल्ड नामाकरण भएको चौडीमा अहिले थारुहट रंगशाला निर्माण भएको छ। बजार विस्तार हुँदै गएपछि उत्तरपट्टिको भागमा त्यही चौरमा तरकारी बजार छ भने पूर्व भागमा मदन भण्डारी अतिथि सदन भवन बन्दै छ।

त्यही अतिथि सदन भवनको अगाडिको भागमा रहेको जग्गा अतिक्रणमा भएको स्थानीयको आरोप छ। ‘पहिलादेखि नै भोगचलन हुँदै आएको भन्दै सरकारी जग्गामा अहिले घर टहरा निर्माण भएको हो।’ अर्का स्थानीय वान्दुप्रसाद चौधरीले भने, ‘चौधरी समुदायले नै भोगचलन गर्दै आएकाले उनीहरुलेनै आफ्नै जग्गा हो भनेर घर टहरा निर्माण गरेका हुन्।’

के भन्छन् नेता र कर्मचारी?

विमानस्थल बनाउने भन्दै विमानस्थलको नाममा रहेको १४ बिघा १६ कठ्ठा १६ धुर जग्गामा अहिले तरकारी बजार, थारुहट रंगशाला निर्माण भइसकेको छ भने मदन भण्डारी अतिथि सदनको निर्माण कार्य जारी छ। विमानस्थलको नाममा रहेको सरकारी जग्गा स्थानीयको कब्जामा परेपछि विमानस्थल बनाउन अन्यत्र सारिएको थियो।

त्रियुगा नगरपालिका-१३ वडा अध्यक्ष पशुपति चौधरीको निजी सम्पर्क नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। यसैगरी, ११ नम्बर वडाका वडा अध्यक्ष विश्वराज भट्टराईले सरकारी जग्गा अतिक्रमणमा परेको जानकारी आएको बताए।

‘नेपाल सरकारको नाममा रहेको छ, त्यो जग्गा,’ उनले भने, ‘मेरो क्षेत्रमा पर्दैन तर अतिक्रमण गरी घर टहरा निर्माण भएको छ भन्ने सुनेको छु।’ भट्टराईले नगर कार्यापालिकाको बैठक बसेपछि के गर्ने भन्ने निर्णय हुन्छ। नेपाल सरकारको नाममा रहेको जग्गा संरक्षण नगरपालिको गर्छ,  उनले भने।

सरकारी जग्गा अतिक्रमण

यता, त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले त्रियुगा नगर क्षेत्रभित्र पर्ने ऐलानी, सरकारी तथा अव्यवस्थित बसोवास गर्नेलाई व्यवस्थित बनाउन छुट्टै नगरस्तरीय आयोग बनाउन लागेको जानकारी दिए।

‘त्यो एयरपोर्टको नाममा रहेको सरकारी जग्गा हो,’ त्रियुगा नगरप्रमुख चौधरीले भने, ‘त्यस क्षेत्रमा ४३ घर छन्, ती ४३ घरले जग्गा नदिएको भए रंगशाला, अतिथि सदन भवन र तरकारी बजार पनि त्यहाँ हुने थिएन।’

प्रमुख चौधरीले नगरपालिकाको सबैलाई व्यस्थित गर्ने ऐन नबनाउँदा समस्या भएको बताए। ‘त्यो जग्गा पनि संरक्षण गर्ने जिम्मा नगरपालिकाको हो, नगरपालिकाकाले आयोग बनाउने छ, छिट्टै त्योलगायत, भूमिहीन, सुकुम्बासी, अव्यस्थित बसोबास गर्नेहरुको जुन समस्या त्यो समाधान गर्छांै, प्रमुख चौधरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.