प्रदेश संसद उद्योग वाणिज्य संघमा, प्रमुखको कार्यालय व्यापार संघमा

|

रूपन्देही : पाँच नम्बर प्रदेशका सांसद्हरुलाई शपथका लागि सबै तयारी पूरा भएको छ। आईतबार प्रदेश प्रमुखले पदभार सम्हालेपछि सांसद्हरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

प्रदेशका प्रमुख उमाकान्त झाले आईतबार बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने छन्। प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको भवनमा स्थापना गरिएको छ।

त्यसपछि प्रमुख झाले आईतबार विहान ११ बजे संसद् भवनमा पुगेर प्रदेशसभा सदस्य मध्ये जेष्ठ सांसद् बलदेव शर्मा पोखरेललाई शपथ खुवाउने छन्। जेष्ठ सांसद् पोखरेलले प्रदेश प्रमुखको उपस्थितिमा अरु सांसद्हरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्। संसद्ले सभामुख चयन नगर्दासम्म पोखरेलले नै सभामुखको भूमिका निर्वाह गर्ने छन्।

संसद् भवन चिटिक्क

प्रदेश सांसद्को सपथका लागि संसद् भवन चिटिक्क पारिएको छ। सरकारले अस्थायी राजधानी तोकेपछि बुटवलस्थित सरकारी तथा संस्थागत कार्यालयहरुको अवलोकन गरेर खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको सभाहललाई संसद् भवन तोकिएको हो। सोही भवनमा सांसद्हरुको सपथ ग्रहण कार्यक्रम तय भएको छ।

प्रदेशसभाका प्रत्यक्ष तर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाले आईतबार शपथ लिनेछन्। शपथ स्थल तोकिएको भवनमा आवश्यक कुर्सी र अन्य व्यवस्थापन पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए।

सांसदहरुको शपथका लागि प्रदेश प्रमुख उमाकान्त झा शनिबार बेलुका बुटवल आइसकेका छन्। प्रदेश प्रमुखको कार्यालयको पनि व्यवस्थापन गरिसकिएको प्रदेश प्रमुखको सचिवालयका निमित्त सचिव शम्भुप्रसाद रेग्मीले बताए।

सांसद्हरुको शपथ बिहान ११ बजे हुनेछ। जसका लागि प्रदेश सांसद्हरु बुटवल आइसकेका छन्। संसद् भवन र प्रदेश प्रमुखको सचिवालय स्थापनाअघि जिल्ला स्थित सुरक्षा निकायका अधिकारीहरुले निरीक्षण गरेका छन्। प्रदेश प्रमुखको पदभार र सांसद्हरुको शपथ ग्रहणलाई भव्य बनाउनका लागि जिल्लाका सरकारी कर्मचारी, सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.