|

काठमाडौं : आइतबार सातवटै प्रदेशका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। सातै प्रदेशमा पहिलो चरणमा प्रदेश प्रमुखबाट सदस्यमध्ये जेष्ठ सदस्यले पद तथा गोपनीयताको शपथ लिए।

त्यसपछि सभामुखको रूपमा शपथ लिएका जेष्ठ सदस्यबाट अन्य सदस्यले शपथ गराइयो। अब प्रदेश संसदले सभामुख छनोट नगरेसम्म तिनै जेष्ठ सदस्यले सभामुखको भूमिका निभाउनेछन्।

उमेरको आधारमा जेष्ठ भएको कारण सभामुखको भूमिका निभाएका सात जेष्ठ सदस्यको उमेर कति त?

जेठामध्येका जेठा बलदेव शर्मा

सातै प्रदेशमा जेष्ठ सदस्यबाट सभामुखको भूमिका पाएकाहरूमध्ये सबैभन्दा जेठा ५ नम्बर प्रदशेका बलदेव शर्मा रहेका छन्। उनको उमेर ७९ वर्ष पुगेको छ। सन् १९९५ मा जन्मिएका उनले आइतबार ५ नम्बर प्रदेशको सभामुखको भुमिका निभाएका हुन्। उनले जेष्ठ सदस्यको आधारमा प्रदेश प्रमुख उमकान्त झाबाट शपथ लिएका थिए। संसदले अर्को सभामुख छनोट नगरेसम्म शर्माले सभामुखको भूमिका निभाउनेछन्।

जेठामध्येका कान्छा जनकलाल श्रेष्ठ

४ नम्बर प्रदेशका जेष्ठ सदस्य जनकलाल श्रेष्ठ भने सातै प्रदेशका जेष्ठ सदस्यहरूमा सबैभन्दा कम उमेरका हुन्। उनको उमेर सबै प्रदेशका जेष्ठ सदस्यको भन्दा १२ वर्ष कम छ। उनी ६७ वर्षका भए। तर श्रेष्ठ ४ नम्बर प्रदेशका प्रदेशसभा सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्य हुन्। उनले आइतबार प्रदेश नम्बर- ४ को सभामुखको रूपमा शपथ गरे र गराए। उनले सभामुखको रूपमा प्रदेश प्रमुख बाबुराम कुँवरबाट शपथ लिएका हुन्।

क्रमश: अन्य प्रदेशका जेष्ठ सदस्यको उमेर

२ नम्बर प्रदेशका जेष्ठ सदस्य तथा सभामुखको भूमिका पाएका ललनलाल चौधरीको उमेर ७५ वर्ष पुगेको छ। उनले सभामुखको रूपमा प्रदेश प्रमुख रत्नेश्‍वरलाल कायस्थबाट शपथ लिए भने अन्य सदस्यहरूलाई शपथ गराए।

१ नम्बर प्रदेशका जेष्ठ सदस्यको उमेर ७४ वर्ष रहेको छ। प्रदेश नम्बरका प्रदेश सदस्य ओमप्रकाश शरावगीले जेष्ठ सदस्यको रूपमा आइतबार सभामुखको भूमिका निभाएर उनले प्रदेश प्रमुख गोविन्द सुब्‍बाबाट शपथ लिए।

७ नम्बर प्रदेशका जेष्ठ सदस्य दिव्येश्‍वरी शाहको उमेर पनि ७४ वर्ष रहेको छ। उनले सभामुखको रूपमा प्रदेश प्रमुख मोहनराज मल्लबाट शपथ लिएका हुन्।

३ नम्बर प्रदेशका जेष्ठ सदस्य डोरमणि पौडेलको उमेर ७१ वर्ष रहेको छ। उनले आइतबार प्रदेश प्रमुख अनुराधा कोइरालाबाट सभामुखको रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि अन्य सदस्यलाई शपथ गराएका थिए।

६ नम्बर प्रदेशका जेष्ठ सदस्य हिमबहादुर शाहीको उमेर भने ६८ वर्ष रहेको छ। यो प्रदेशका जेष्ठ सदस्यको रूपमा आइतबार उनले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि उनले अन्य सदस्यहरूलाई शपथ गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.