|

भद्रपुर, (झापा) : मोबाइल फोनको टावरले काम नगर्दा जिल्लाका दक्षिणी भेगका नागरिक मर्कामा परेका छन्। मोबाइल सेवा प्रदायक संस्थाहरूले टावर राखे पनि त्यसले काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो।

जिल्लाका भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल फोनको नेटवर्क नटिप्दा मर्का परेको स्थानीयको गुनासो छ। टावर भए पनि त्यसले काम नगर्दा मर्कामा परेको भद्रपुर २ निवासी फागु सुब्बाले गुनासो पोखे। ‘नेपाल टेलिकमको टावर राखिए पनि सेवा सुरु गरिएकोछैन,’ सुब्बाले भने, ‘एनसेलले पनि सगरमाथा चोकमा टावर राखेका कारण भित्री वस्तीका सेवाग्राही सञ्चारको पहुँचबाट टाढा हुनु परेको छ।’

गाउँघरमा कुनै घटना भएमा मोवाइलबाट फोन नलाग्दा सूचना प्रवाह गर्न समस्या परेको स्थानीय इन्दिरा राईले गुनासो पोखिन्। ‘साना–ठूला घटना जतिबेला पनि हुनसक्छन्,’ राईले भनिन्, ‘अहिले गाउँमा जंगली हात्तीको आतंक छ, नेटवर्कले काम नगर्दा स्थानीय थप मारमा परेका छन्।’ 

जिल्लाको दक्षिणी क्षेत्रमा टावर र पावर जडान भइसकेकाले चाँडै सेवा सुरु हुने नेपाल टेलिकम शाखाका कार्यालय भद्रपुरका निमित्त कार्यालय प्रमुख विजय अधिकारीले बताए। 

सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर दश महिनाअघि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेलले गाउँ–गाउँमा पुगेर निरीक्षण गरी टावर राख्ने स्थानको खोजी गरेको थियो। तर, अलिहेसम्म कुनै प्रक्रिया अघि नबढाएको स्थानीयले बताए।

स्थानीयले सेवाबारे गुनासो गरेपनि एनसेलका मेची अञ्चल प्रखुख वीरेन्द्र झा भने समस्याबारे स्थानीयले आधिकारिकरूपमा जानकारी नगराएको बताउँछन्। ‘यस कार्यालयलाई टावरको रेखदेखलगायतको काम मात्र हेर्ने अधिकार छ,’ उनले भने, ‘तर स्थानीयको आधिकारिक जानकारी आए केन्द्रमा उक्त कुरा पुर्‍याउँछौं।’

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले समस्यालाई लिएर नेपाल टेलिकमको निर्देशनालयमा पत्र पठाइसकेका बताए। उनले भने, ‘टेलिकमले विभिन्न स्थानमा टावर राखे पनि बिटिएस क्षमता सुरु नगर्दा समस्या भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.