३२ इन्चकी १९ वर्षीया मालतीले पाउनेछिन् मासिक दुई हजार रुपैयाँ भत्ता

|

सुनसरी : नेपालकै होचो कदको भएको दाबी गरिएकी एक जना युवतीलाई मोरङको सुन्दरहरैंचा नगरपालिकाले मासिक दुई हजार रुपैयाँ भत्ता दिने भएको छ। सुनसरीको इटहरीसँग सीमाना जोडिएको सुन्दरहरैंचा–४ की १९ वर्षीया मालती मुरर (ऋषिदेव)को उचाई ३२ इन्च र तौल १४ केजी मात्र छ। 

१८ भदौ ०५६ मा जन्मिएकी मालती रमेशकुमार मुरर र मीनाकुमारीको पहिलो सन्तान हुन्। जन्म सामान्य रूपमा भएपनि एक वर्षपछि उनको उचाइ बढ्ने क्रम ढिलो गतिमा भएको मालतीकी आमा मीनाकुमारीले बताइन्।

नगरपालिकाका प्रखुम शिवप्रसाद ढकालले आइतबार पत्रकार सम्मेलन गरी मालतीको भरण पोषणमा सामाजिक सुरक्षाबापत मासिक २ हजार रुपैयाँ दिन सुरु गरेको जानकारी दिए। उनले भने, ‘हामीलाई उनको विषयमा वडा कार्यालयबाट जानकारी प्राप्त भएपछि भरण पोषणका लागि सहयोग दिन सुरु गरेका हौं।’

नागरिकता बनाउन वडा कार्यालयमा सिफारिस लिन गएपछि वडाअध्यक्ष शैलेन्द्र श्रेष्ठले मालतीलाई मालतीबारे थाहा पाएको प्रमुख ढकालले बताए। मुरर परिवारले नजिकैको बुढीखोलामा बालुवा चाल्ने काम गरी गुजारा चलाउँदै आएका छन्।

आर्थिक अवस्था नाजुक भएकाले मालतीको स्वास्थ्य परीक्षण गर्न विराटनगरस्थित नोबेल अस्पतालसँग छलफल अघि बढाएको र अस्पतालले पनि सकारात्मक जवाफ दिएको नगरपालिकाका प्रमुख ढकालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.