१२८ देखि १२९ नम्बर पिलरसम्म सडक निर्माण कार्यमा रोक

|

भद्रपुर (झापा) : सर्वोच्च अदालतले नेपाली भूभाग मिचिनुको कारण पेस गर्न सरकारको नाममा आदेश जारी गरेको बेला झापाको दक्षिणी सीमावर्ती नाका जोडिएको दशगजा क्षेत्रसमेत भारतीय पक्षले मिच्न थालेको छ। कालोपत्रे सडक तथा भौतिक संरचना निर्माण गरी भारतीय पक्षले एकलौटी रूपमा नेपाल–भारतको दशगजा क्षेत्र मिच्न थालेको हो। 

नेपाल र भारत सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुन तथा दुई देशबीच भएका सम्झौताअनुसार दशजगा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न, बसोवास गर्न नपाइने उल्लेख छ। तर झापाको कचनकवल गाउँपालिका– १ को पिण्डलबारी र भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको धन्तोला ग्राम पञ्चायत सीमा क्षेत्रमा पर्ने १२७ नम्बर पिलरदेखि १२९ नम्बरसम्मको दशजगा क्षेत्रमा भारतीय पक्षले अहिले धमाधम कालोपत्रे सडक निर्माण गरिरहेकाे छ।

बलपूर्वक भारतीय पक्षले दशगजा क्षेत्र मिच्न थालेपछि दक्षिणी झापावासीले त्यसको विरोध गर्न थालेका छन्। भारतले दशजगाको महत्त्व नै नबुझेर अतिक्रमण गर्न थालेको बताउँदै बाह्रदशी गाउँपालिका- २ का खगेन्द्र ओझाले भने, ‘नेपाल सरकारले दशजगा क्षेत्रमा भएको मिचाइ रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्छ।’ 

भारतीय पक्षले दशजगा क्षेत्रमा सडक निर्माण गरिरहेको थाहा पाएपछि स्थलगत निरीक्षण गरी सम्बन्धित निकायमा जानकारी गराएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक नेत्रविक्रम रानाले बताए। उनले भने, ‘भारतीय पक्षलाई सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छाैँ, तर पनि उनीहरूले अटेर गरिरहेका छन्।’

दशैँको बेला नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा दशजगा क्षेत्रमा बनाइएका अस्थायी संरचना र सडक निर्माण कार्य रोक्न सहमति भएको उल्लेख गर्दै उनले भने, ‘भारतीय पक्षले त्यसको पालना अझै गरेनन्।’ कचनकवल गाउँपालिकाकै वडा नम्बर- १ मा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको वेस क्याम्प छ। भारतीय पक्षले सडक निर्माणको नाममा दशगजा क्षेत्र अतिक्रमण गर्न थालेको जानकारी पाउनासाथ भारतीय पक्षलाई तत्काल निर्माण कार्य रोक्न आग्रह गरेको सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट घेराबारीका सशस्त्र प्रहरी निरीक्षक आनन्द महतोले बताए। 'दशगजा अतिक्रमण भएकै हो', सशस्त्र प्रहरी निरीक्षक महतोले भने, 'हामीले जानकारी गराएपछि अहिले अतिक्रमण गर्न कार्य भारतीय पक्ष रोकेको छ।’ 

यस्तो छ भारतीय नागरिकको प्रतिक्रिया
भारतीय क्षेत्रमा बसोवास गर्ने भारतीयले आफूहरूलाई दशगजा क्षेत्रको बारेमा कुनै जानकारी नभएको प्रतिक्रियासमेत दिँदै आएका छन्। किशनजञ्ज जिल्ला धन्तोला ग्राम पञ्चायतको सदस्य बताउने तेजनारायण गिरीले भने, ‘भारत सरकारको प्रधानमन्त्री कोषबाटै कालोपत्रे सडक निर्माणका लागि वजेट विनियोजन भएपछि सरकारी योजनाअनुसार सडक निर्माण भइरहेको छ। धन्तोला ग्राम पञ्चायतबाट दिघलवैंक बजारसम्म जोड्ने सडक निर्माण हुँदै छ।

वर्षौंदेखि नेपाल-भारतको दशगजा क्षेत्रमा स्थानीयले भौतिक संरचना निर्माण गरी बसिरहेका र उनीहरूको बसोवासका कारण सडक निर्माण गर्दा दशगजासमेत मिचिएको उनको भनाइ छ। 

१२८ देखि १२९ नम्बर पिलरसम्म सडक निर्माण कार्यमा रोक
भारतीय पक्षले आफ्नो सीमा क्षेत्रमा अहिले धमाधम कालोपत्रे सडक निर्माण गर्दै छ। सडक निर्माण गर्दा ठेकेदार र रेखदेख गर्न व्यक्तिले दशगजा क्षेत्र मिचिएर सडक निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका थिए। स्थानीयको विरोधपश्चात दुवै देशका सुरक्षा निकायले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। अनुगमनको क्रममा नापजाँच गर्दा दशगजा क्षेत्र मिचिएर सडक निर्माण गरेको फेलापरेपछि निर्माण कार्य तत्काल रोक्न लगाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले बताए।

‘१२८ देखि १२९ नम्बर पिलरसम्मको दशगजा क्षेत्र मिच्न लागेको थियो', सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘भारतीय एसएसबीको सहकार्यमा त्यस क्षेत्रमा निर्माण कार्य रोकेका हौँ।’ 

दशगजा छुट्याउने यकिन तथ्यांक नै छैन 
नेपाल–भारत सीमा पिलर र स्तम्भबाहेक दशगजा क्षेत्र हेर्न नेपाल सरकारको आधिकारिक निकायसँग यसको यकिन तथ्यांक नै छैन। दशगजा क्षेत्रदेखि कति मिटर छाडेर सडक तथा भौतिक संरचना निर्माण गर्नुपर्ने भन्ने विषयमा झापा प्रशासन आफैँमा बेखबर छ। अहिले झापाको कचनकवल गाउँपालिका- १ को विवाद पनि यकिन तथ्यांक नहुँदा बल्झिएको हो। विवाद बल्झिएपछि अनुगमनमा पुगेका दुवै देशका सुरक्षाकर्मीले सीमा स्तम्भ हेरी नापजाँच गरी दशगजा क्षेत्र छुट्याएर निर्माण कार्य रोकेको हो। ‘भारत सरकारले सीमा क्षेत्रमा सडक निर्माण गर्दा दशगजादेखि ३० मिटर छाडेर सडक निर्माण कार्य गर्न परिपत्र जारी गरेको भारतीय एसएसबीले हामीलाई जानकारी गराएपछि मात्र थाहा भएको हो', सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले भने, ‘दशगजा छुट्याउने यकिन तथ्यांक हामीसँग भएको भए सीमा तथा दशगजा अतिक्रमण रोकथाममा सहज हुन्थ्यो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.