|
सीसी क्यामेरामा कैद भएको तस्वीर

भद्रपुर (झापा) : झापाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका बजार क्षेत्रबाट मोटरसाइकल चोरी गर्दै आइरहेका गिरोहले केही दिनयता सीमा क्षेत्रका बजारलाई निशानामा राख्न थालेका छन्। 

झापाका मुख्य बजार क्षेत्रमा प्रहरीको निगरानी बढेपछि मोटरसाइकल चोरी गर्ने गिरोहमा आवद्ध समूहले अहिले सीमा क्षेत्रका बजारबाट मोटरसाइकल चोरी गर्न थालेका छन्। झापाको सदरमुकाम भद्रपुर क्षेत्रबाट १० दिनको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएको छ। त्यसमा एउटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारे पनि दुई वटा मोटरसाइकल अझै फेला परेको छैन। मोटरसाइकल चोरी बढ्न थालेपछि भद्रपुरका प्रहरीलाई थप चुनौती थपिएको छ।
 
घटना विवरणअनुसार शनिबार दिउँसो भद्रपुर बजारबाटै एउटा मोटरसाइकल चोरी भएको छ। भद्रपुर–६ स्थित बजार लाग्ने पार्किङ स्थलबाटै भद्रपुर–४ का द्रिर्णे राजवंशीको मे२प ८२२५ नम्बरको कालो रंगको सूपर स्पेलण्डर मोटरसाइकल चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवुले जानकारी दिए। 
पार्किङ स्थलमा मोटरसाइकल राख्दा सवारीधनी राजवंशीले साँचो नै मोटरसाइकलमा छाडेर बजार भर्न गएका थिए। बजार भरेर फर्किएर आउँदा राजवंशीको मोटरसाइकल नभेटाएपछि बजारमा होहल्ला मचिएको थियो। बजारमा होहल्ला मचिएपछि प्रहरी घटनास्थल पुगेको प्रहरी निरीक्षक जगेवुले बताए। 

त्यसैगरी गत माघ १२ गते भद्रपुर–८ स्थित हस्पिटल चोकमा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाको परिसरबाटै राति साढे २ बजे मे७प ४४४१ नम्बरको मोटरसाइकल चोरी भएको छ। बजाज कम्पनीको डिस्कभर मोटरसाइकल चोरी भएको हो। चोरी गर्न आएका दुई युवकलाई रेडक्रसको सीसी क्यामेराले कैद गरेपनि पहिचान हुन नसक्दा हाल सम्म उनीहरू पक्राउ पर्न सकेको छैन। सिसी क्यामेराले चोरी गर्न आएका चोरद्वयको सम्पूर्ण गतिविधि कैद गरेको छ। 

त्यस्तै, भद्रपुर–६ स्थित विकेन्द्र श्रेष्ठको घरबाट माघ ११ गते मे९प ७२२ नम्बरको हण्डा कम्पनीको कालो रंगलको हर्नेट मोटरसाइकल चोरी भएको थियो। घरधनी श्रेष्ठ कामले घर बाहिर गएको बेला उनको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल नेपाल–भारत सीमावर्ती नजिकैबाट सोही दिन बिहान वेबारिसे अवस्थामा फेला पारेको प्रहरी निरीक्षक जगेवुले जानकारी दिए। 

केही महिना झापामा मोटरसाइकल चोरी गर्ने समूहको बिगबिगी बढ्न थालेपछि मोटरसाइकल धनीहरू त्रसित बनेका छन्। झापा प्रहरीले अहिले सम्म मोटरसाइकल चोरी गर्ने एक दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ। तर पनि झापाका बजार क्षेत्रमा मोटरसाइकल चोरीका घटनामा कमी आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.