|

डोटी : माघ १० गते माओवादी नेता महेशकुमार महरा ‘सुधीर’ डडेल्धुराको आलिताल गाउँपालिका– ३ मा रहेको आफ्नै घरमा थिए। बिहान ९ बजे प्रदेशसभा सांसद कुन्ती जोशीको फोन आयो। जोशीले महरालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन लागेको खबर दिँदै भनिन्, ‘नागरिकता र अपांगता परिचयपत्र बोकेर तुरुन्त डोटी आउनू।’ तर महरालाई त्यो खबर पत्यार लागेन।

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गर्नुपर्ने दिन नै खबर आएका कारण महराले सांसद कुन्तीको कुरा पत्याएनन् र उल्टै आफूलाई नजिस्क्याउन भन्दै प्रतिवाद गरे। ‘म अपांग व्यक्ती प्रदेशसभाको समानुपातिक सूचीमा राख्नुहोस् भनेको थिएँ, तर पर्न सकिएन’, महराले भने, ‘यति लामो पार्टीमा योगदान हुँदा पनि केही भएन भनेर खिन्न भएर घरमै बसेको थिएँ, एक्कासि आएको खबरप्रति मलाई विश्वास नै भएन।’ 

लगत्तै माओवादी प्रदेश ७ इञ्चार्ज लेखराज भट्टको फोन आयो। भट्टले पनि त्यही कुरा भनेपछि महराले विश्वास गरे। पार्टी इञ्चार्ज भट्टले नै फोन गरेर तुरुन्त आउन भनेपछि ‘पार्टी निर्देशन मान्नै पर्‍यो’ भन्दै उनी डोटी आइपुगे। अपराह्न ४ बजेतिर उनको उम्मेदवारी पनि दर्ता भयो। 

माघ २४ गते भएको राष्ट्रियसभा निर्वाचनबाट महराले ३ हजार ७०८ मत प्राप्त गरेर विजयी भए। माओवादीले राष्ट्रियसभा सदस्यमा तय गरेको उम्मेदवार लालीराम लुहारले अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिन नपाउने भए। अर्को वैकल्पिक उम्मेदवारको रूपमा  डोटी जिल्ला संयोजक जंग विक ‘शैलेन्द्र’को नाम पनि आयो तर शैलेन्द्रसँग कसैको फोन सम्पर्क भएन।

तेस्रो विकल्पमा महेशको नाम आएको थियो। ‘मैले प्रदेशसभामा पटक पटक दाबी गर्दा पनि मेरो नाम सिफारिस नभएपछि रिस उठेको थियो, त्यसैले मैले नेताहरूका फोन रिसिभ गर्न पनि छोडेको थिएँ’, महरा भन्छन्, ‘प्रदेश संगठन कमिटीका एक मित्रले पटक पटक फोन गर्नुभयो अनि फोन उठाएपछि जानकारी भयो।’ 

त्यतिले मात्रै उनी आउन मानेका थिएनन् तर माओवादी प्रदेश ७ का इञ्चार्ज लेखराज भट्टले नै फोन गरेपछि भने उनी आएका थिए। 

विद्यार्थी जीवनदेखि भूमिगत राजनीति सुरु गरेका महरा २०६२ फागुन १४ गते पाल्पाको धर्मपानीमा भएको सरकारी सेना र तत्कालीन माओवादी सेनाबीच भएको दोहोरो भीडन्तमा गोली लागेपछि अपांग बनेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.