|

भद्रपुर (झापा) : जिल्ला मालपोत कार्यालय झापाका कर्मचारीले सेवा प्रदानमा ढिलासुस्ती गरेको भन्दै सेवाग्राहीले मंगलबार दिउँसो कार्यालयभित्र तोडफोड गरेका छन्। 

आधादेखि एक घण्टाभित्र हुने कामकाजमा कर्मचारीले घण्टौँ समय लगाउन थालेपछि आक्रोशित बनेका सेवाग्राहीले कार्यालयभित्र रहेका डेस्क र बेन्च तोडफोड गरेका हुन्। सेवाग्राहीले कार्यालयभित्र तोडफोड गरेपछि जिल्ला प्रहरी कार्यालय झापाले तत्काल प्रहरी पठाएको थियो। प्रहरी घटनास्थल पुगेपछि आक्रोशित सेवाग्राहीको भीड नियन्त्रणमा आएको थियो। प्रहरीको सुरक्षा घेरामा कर्मचारीले २ घण्टा सेवा दिएका थिए। 

मालपोत कार्यालयले गत फागुन ६ गतेदेखि मालपोतको सबै कामकाज अनलाइन प्रविधिबाट सुरु गरेको छ। सेवाग्राहीलाई जानकारीविनै मालपोतले एक्कासि अनलाइन सेवा सुरु गरेपछि कार्यालयको दैनिक कामकाज प्रभावित बनेको छ। अनलाइनका लागि दक्ष कर्मचारी नहुँदा पुराना कर्मचारीले कम्प्युटरबाट छिटोछरितो सेवा दिन नसक्दा सेवाग्राहीहरू फागुन ६ गतेदेखि कार्यालयमा धाउन बाध्य बनेका छन्। 

बिहान ११ बजेदेखि कार्यालयमा आएका सेवाग्राही बेलुका ५ बजेसम्म कार्यालय परिसरभित्रै घुमफिर गरी काम नसकेर घर फर्किन बाध्य भएको बताउँछन्। 

आइतबारदेखि जग्गा पास गराउन कार्यालय धाए पनि अहिलेसम्म आफ्नो काम नभएको अर्जुनधाराका सेवाग्राही विजेशकुमार साहले बताए। ‘कार्यालयले अनलाइन सेवाको नाममा सेवाग्राहीलाई सास्ती दिँदै आएको छ’, उनले भने, ‘दक्ष कर्मचारी नराख्दा हामी मारमा परेका छौँ।’ तालिमविनै हचुवाको भरमा दक्ष कर्मचारी नराखी कम्प्युटरबाट अनलाइन सेवा सुरु गर्दा सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने मेचीनगरका सेवाग्राही होमप्रकाश आचार्यले गुनासो गरेका छन्। ‘एक घण्टामा हुने काम दिनभर लाग्दा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ’, उनले भने। 

दैनिक मालपोतमा जग्गा पास, रोक्का, दृष्टिबन्धक, फुकुवा, नामसारी, अंशवण्डा, हालसाविकलगायतका काम हुँदै आएको छ। अहिले अनलाइन सेवा सुरु गरेपछि ती कामहरू प्रभावित बनेका छन्। अनलाइनमा बसेका कर्मचारीले ती कामलाई घण्टौँ लगाउँदा अहिले दिनमा १६ देखि २० वटा मात्र जग्गासम्बन्धी काम हुने गरेका छन्। यसअघि दैनिक ३०० बढी जग्गासम्बन्धी काम हुँदै आएको लेखापढी व्यवसायीहरूको भनाइ छ।

भूमि सुधार तथा व्यवस्थापन विभागबाट नायव महानिर्देशकसहित आएको कर्मचारीको टोलीले अनलाइन सेवाको उद्घाटन गरेको थियो। जिल्ला मालपोतल कार्यालयले अनलाइन सेवा सुरु गर्दा सेवाग्राही, राजनीतिक दल तथा संचारकर्मीलाई कुनै जानकारी नदिई गोप्य रूपमा सेवाको उद्घाटन गरेका थिए। 

माघ २७ गतेदेखि मालपोतका कर्मचारीलाई तालिम दिएर सेवा प्रदान गरिएको मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत रोशनशंकर घिमिरेले बताए। अनलाइन सेवा सुरु हुँदा कार्यालयको कामकाजमा केही ढिलासुस्ती भएको स्वीकार्दै उनले भने, ‘फोटो, हस्ताक्षर र औँठा छाप कम्प्युटरमा राख्नुपर्ने हुन्छ, नयाँ प्रविधिका कारण कर्मचारीको कम्प्युटरमा हात नबस्दा पहिलाको तुलनामा जग्गासम्बन्धी काम कम भएको हो।’ 

सेवाग्राहीको पीडालाई मध्यनजर गर्दै केही दक्ष जनशक्ति थपी चाँडोभन्दा चाँडो छिटोछरितो सेवा प्रदान गर्न आफू लागिपरेको उनले बताए।

लेखापढी व्यवसायीले बुझाए ज्ञापनपत्र
मालपोत कार्यालय झापाले अनलाइन प्रविधिबाट सेवा सुरु गरे पनि यसको प्रत्यक्ष मार सेवाग्राहीमा परेको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरले १० बँुदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। 

समितिका अध्यक्ष महेश न्यौपाने र सचिव महेन्द्र खतिवडासहितको टोलीले कार्यालयका प्रमुख मालपोत अधिकृत रोशनशंकर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन्।

दक्ष प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्ने, दैनिक पेस भएका लिखतहरूको सोही दिन कार्य सम्पन्न गर्नुपर्ने, मालपोत कार्यालयबाट हुने ढिलासुस्तीको अन्त्य हुनुपर्ने, सेवाग्राहीको परिवर्तित विषयमा सुसूचित गराउनुपर्ने, रोक्का खातालाई अद्यावधिक गर्नुपर्ने, वडापत्रमा उल्लेख भएअनुसारको कार्य सम्पन्न नभएमा सेवाग्राहीलाई राज्यले निर्धारण गरेको क्षतिपूर्ति दिनुपर्ने, अपांग, बालबालिका, वृद्धवृद्धालगायत सूचीकृतहरूको सम्बन्धमा छुट्टै व्यवस्था कायम गर्नुपर्नेलगायतका मागहरू ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.