|

काठमाडौं : विभिन्न व्यक्तिको हत्यामा स‌ंलग्न मनोज पुन प्रहरी 'इन्काउन्टर'मा मारिएका छन्। पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन्। रुपन्देहीमा आतंक मच्चाउँदै आएका प्रहरीको 'मोष्ट वान्टेड' सूचीमा रहेका गुण्डा नाइके पुन प्रहरी इन्काउन्टरमा मारिएका हुन्। 

बुधबार बिहान रुपन्देहीको देवदहमा उनी प्रहरीको गोलीबाट मारिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी घनश्याम अर्यालले पुष्टि गरे। रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो।

बुधबार बिहान साढे ३ बजे देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरी र उनको जम्काभेट भएको थियो।  प्रहरीको गोली लागेर उनी घाइते भएका थिए। घाइते उनको लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको ज्ञवालीले बताए। पुनसँगै उनका सहयोगी सोम आलेको पनि मृत्यु भएको छ।

को हुन मनोज पुन ?

रुपन्देहीको देवदह नगरपालिका–६ बासिन्दा हुन मनोज पुन। उनको वास्तविक नाम मनोज बुढामगर हो। एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि उनी युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष भएका थिए। संगठनमा रहँदा पनि उनले फिरौती माग्ने तथा धम्क्याउने जस्ता काम गर्दै आएका थिए। फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्यसमेत नरहने गरी पार्टीले उनलाई कारबाही गरेको थियो।

यसरी सुरु गरे पुनले अपराधको श्रृंखला ?

एमालेको युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष हुनुअघि नै पुन चोरी, डकैती र धम्काउने जस्ता कार्य गर्थे। जब उनी युथ फोर्सको उपाध्यक्ष भए त्यसपछि उनको अापराधिक गतिविधिले फड्को मार्न थालेको प्रहरीको भनाइ छ। पुनविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजानिक अपराध, ज्यान मार्ने उद्योग लगायत मुद्दा दर्ता भएका छन्। उनको अपराधको श्रृंखला यतिमा मात्र सिमित रहेन। 

२०७३ साल पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी हत्याको मुख्य योजनाकारका रुपमा आए उनी । हत्याको झण्डै डेढ महिनापछि प्रहरीले फागुन १५ गते आइतबार पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार मनोज पुन नै भएको बताएको थियो।

पार्टीबाट हटाउन तिवारीको भूमिका रहेको ठानेर पुनले तिवारीसँग रिसइबी साँधेको र उनको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले बताएको थियो। तिवारी हत्याको अभियोगमा ७ जना पक्राउ परे पनि पुन फरार थिए।

पुनले २०७४ साउनमा रुपन्देही मणिग्रामका व्यवसायी दुर्गालाल भण्डारीलाई लक्ष्य गरी गोली प्रहार गरेका थिए। तर भण्डारी बच्न सफल भए। यी विभिन्न घटना लगत्तै पुनले विदेशबाट विभिन्न व्यक्तिलाई फोन गरेर घटना आफूले गराएको बताउने गरेका थिए। पुनले अापराधिक कार्यका लागि परिचालन गरेकामध्ये  १८ जनालाई प्रहरीले विभिन्न समयमा पक्राउ गरिसकेको छ।

पुन ३ वर्षदेखि मोष्ट वान्टेडको सूचीमा रहेका थिए। २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि समेत उनले जिम्मा लिएका थिए।  उनी भारतमा लुकेर बसिरहेको जानकारी पाएपछि खोजीका लागि २०७३ भदौमै प्रहरी प्रधान कार्यालयमार्फत भारतमा पत्र काटिएको थियो।

पढ्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.