धेरै रकम नतिर्नेको सूचीमा तप्तबहादुर विष्टदेखि पद्मशमसेरकी छोरीसम्म

|

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नबुझाएका ११९ जनाको नाम सार्वजनिक गरेको छ। पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका व्यक्तिहरू तथा संस्थाहरूको नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरिएको हो।

कार्यालयमा सरकारी रकम तिर्न बाँकी हुनेहरूको नाम प्रकाशित भएको ३५ दिनभित्र कार्यालयमा सम्पर्क राखी बुझाउन बाँकी रकम नबुझाए उनीहरूको सम्पत्ति सरकारले लिलामी गर्ने सूचनामा उल्लेख गरिएको छ। सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर, साँवा फिर्ता तथा जरिवानाको रकम नुबझाउनेहरूको नाम सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएका नाममा सचिवदेखि केही चर्चित व्यवसायीहरू समेत रहेका छन्। ३ वटा विदेशी कम्पनीसमेत ठूलो रकम नतिर्नेको सूचीमा छन्।

११९ मध्ये करोडमाथि रकम बुझाउन बाँकी ९ जना रहेका छन् भने लाखमाथि रकम बुझाउन बाँकी ४१ जना छन्।

करोडभन्दा बढी रकम तिर्नुपर्नेहरू

सबैभन्दा बढी रकम तिर्नुपर्नेमा क्यासिनो तथा होटल व्यवसायी रहेका छन्। होटल व्यवसायी तथा अन्नपूर्ण होटलका महाप्रबन्धक तप्तबहादुर विष्ट छन्। 

उनको नाममा १२ करोड ७६ लाख ५९ हजार ९५३ रुपैयाँ बुझाउनका लागि ३५ दिने सूचना जारी गरिएको छ। उनलाई होटल अन्नपूर्णका महाप्रबन्धकको रूपमा सूचना जारी गरिएको छ।

त्यस्तै, अमेरिकन कम्पनी टेक्सना रिसोर्सले पनि नेपाल सरकारलाई तिर्नुपर्ने ९ अंकको रकम बुझाएको छैन। त्यो कम्पनीबाट सरकारले ११ करोड ७३ लाख ४५ हजार ८५२ रुपैयाँ ९ अंकमा रकम असुल उपर गर्न बाँकी रहेको छ।

त्यस्तै, क्यासिनो व्यवसायी तथा ह्याप्पी आवर प्रालिका अध्यक्ष गोकर्ण लामिछानेले पनि बढी रकम तिर्नुपर्नेछ। महालेखाको तथ्यांकअनुसार उनले ६ करोड १६ लाख ६० हजार रुपैयाँ तिर्नुपर्नेछ।

करोडमाथि तिर्नुपर्ने ९ व्यक्ति वा संस्था

क्र.स.

संस्था वा व्यक्तिको नाम

तिर्नुपर्ने रकम (रुपैयाँमा)

तप्तबहादुर विष्ट, महाप्रबन्धक अन्नपूर्ण इन्टरनेशनल प्रालि

१२,७६,५९,९५३

टेक्साना रिसोर्स कम्पनी, युएसए

११,७३,४५,८५२

गोकर्ण लामिछाने, अध्यक्ष तथा संचालक, ह्याप्पी आवर प्रालि

६,१६,६०,०००

इएबिजी, ग्रुप युएई

२,६८,८६,३५१

बिबिबी चाम्पियन्स ओइल कम्पनी, युएसए

१,२९,३०, ८९८

महाराज कुमारी रमा मल्ल, प्रबन्धनिर्देशक होटल मल्ल

८,१०,०७,५३८

आरडी टटललगायतका ५ जना संचालक, नेपाल रिक्रिएसन प्रालि

१,८४,००,९३९

रोशनकुमार लामा, लामा कन्स्ट्रक्सन प्रालि

१,०३,६५,२८८

पासाङ ग्याल्जेन लामा र कर्म लामा, संचालक खुम्बु कन्स्ट्रक्सन

४,३०,६०,५४७

चर्चित पात्र, संस्था र मृत्यु भएकाका नाम पनि सूचीमा

महालेखाले सार्वजनिक गरेको सूचीमा होटल व्यवसायी तप्तबहादुर विष्ट मात्रै होइन, श्री ३ पद्मशमसेरकी छोरीसमेत रकम नतिर्नेको सूचीमा छन्। महाराजकुमारी मल्ल पद्मशमशेरकी छोरी हुन्।

 त्यस्तै, सरकारी स्वामित्वमा रहेका कम्पनी र सरकारी कर्मचारी ३५ दिनभित्र रकम असुल गर्नुपर्नेमा छन्।

मृत्यु भएको व्यक्तिको नाममा पनि ३५ दिनभित्र रकम नबुझाएको चल अचल सम्पतिबाट असुल उपर गरिने भनिएको छ। काठमाडौं थापाथलीका शम्भुशमशेर जबराको निधन भइसकेको छ। उनको नाममा ३५ दिनभित्र सरकारलाई तिर्न बाँकी ८२ हजार १५८ रुपैयाँ बुझाउन सूचनामा भनिएको छ।

त्यस्तै, सचिव प्रेमबहादुर सिंह, विगतमा सरकारी स्वामित्वमा रहेको हिमाल सिमेन्ट कम्पनी लिमिटेड पनि सरकारलाई रकम नतिर्नेको सूचीमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.