|

डोटी : डोटी जिल्ला डाक्टरविहीन भएको छ। डोटी जिल्लामा कार्यरत चिकित्सकहरूले आफू असुरक्षित भएको भन्दै जिल्ला छाडेपछि डाक्टरविहीन भएको हो। 

आइतबार जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि कुटपिट भएपछि डोटीका चिकित्सकहरू विवश पराजुली, जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. राजकुमार विश्वकर्माले जिल्ला छोडेका हुन्।  

डोटीका निजी अस्पतालमा कार्यरत डाक्टर पनि कामकाज ठप्प पार्ने तयारीमा रहेका छन्। 

आइतबार जिल्ला अस्पताल डोटीमा १ महिलाको भिडियो एक्सरे गर्ने क्रममा डा. जितेन्द्र सिंहले दुर्व्यवहार गरेको भन्दै ती महिलाका आफन्तहरूले सिंहलाई कुटपिट गरेका थिए। जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतीश विष्टले चिकित्सकहरूले जिल्ला छोडेको बताए। ‘चिकित्सकहरूमाथि हमला भएपछि असुरक्षित भएको महसुस गर्दै साथीहरूले आजै जिल्ला छाडेका हुन्’, विष्टले भने, ‘उहाँहरूका पेसागत संगठनहरूले विज्ञप्ति निकालेर काठमाडौं आउन भनेका रहेछन्, त्यसैले उहाँहरू जिल्लाबाहिर जानुभयो।’ 

सरकारी कोटामा रहेका दुवै डाक्टरले अस्पताल छोडेपछि निक साइमन नामक गैरसरकारी संस्थाबाट नियुक्त डा. गिरीश अवस्थी मात्रै अस्पतालमा छन्। डा. अवस्थी पनि बिहीबार जिल्ला छाड्ने तयारीमा छन्। ‘नेपाल चिकित्सक संघले आउन भनिसकेपछि म पनि भोलि जाने तयारीमा छु’, डा. अवस्थीले भने। 

आइतबार भएको घटनाको विरोधमा मुद्दा दर्ता भएको छ। विपक्षीहरूले पनि चिकित्सक डा. जितेन्द्र सिंहविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा हाल्ने चेतावनी दिएकाले आफूहरू असुरक्षित भएको महसुस गर्दै जिल्ला छाडेको जिल्ला अस्पतालमा कार्यरत डा. विवश पराजुलीले बताए। ‘तपाईं मुद्दा हाल्ने भए हामी पनि मुद्दा हाल्छौँ भन्ने धम्की आयो’, पराजुलीले भने, ‘त्यसपछि हामीले पेसागत संगठनहरूसँग सल्लाह गरी असुरक्षित भएको महसुस गर्दै जिल्ला छोड्यौँ।’ 

के भएको थियो घटना?

जिल्ला अस्पताल डोटीमा भिडियो एक्सरे गर्ने चिकित्सक डा. गिरिस अवस्थी परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरका लागि गाउँतिर भएका बेला केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रका डा. जितेन्द्रलाई जिल्ला अस्पतालमा १ महिनाको लागि काजमा बोलाइएको थियो। 

आइतबार उनी बिरामीहरूको भिडियो एक्सरे गरिरहेका बेला १ महिलासँग भनाभन भयो। ती महिलासँग भनाभन भएपछि डा. जितेन्द्रले ती महिलाको भिडियो एक्सरे नगरी बाहिर पठाए। डाक्टरले आफूमाथि अभद्र व्यवहार गरेको र भिडियो एक्सरे पनि नगरिदिएको भन्दै ती महिलाले आफन्तलाई खबर गरिन्। 

महिलाका आफन्त जिल्ला अस्पताल पुगेर डाक्टरलाई किन एक्सरे नगरेको भन्दै प्रश्न गरे। यस क्रममा डाक्टर र ती व्यक्तिको चर्को भनाभन भयो। डाक्टरले ती व्यक्तिको गालामा हिर्काए। त्यसपछि सुरु भयो लडाइँ।

ती व्यक्तिले आफन्तहरूलाई बोलाएपछि अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको कार्यकक्षमा बसिरहेका डाक्टर सिंहलाई कुटपिट गरे। तत्काल प्रहरीलाई खबर भएपछि प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.