|

गोरखा : प्रदेश ४ का भूमि, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि पेसालाई सम्मानित पेसा बनाउन आफूले तयारी थालेको बताएका छन्। 
बुधबार प्रेस सेन्टर नेपाल गोरखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले बेरोजगारी अन्त्य गर्न कृषि नै राज्यको महत्त्वपूर्ण खम्बा भएको बताएका हुन्। 

‘कृषिमा आवद्ध भए रोजगारी पाइन्छ’, उनले भने, ‘बेरोजगारी अन्त्य गर्ने पहिलो र महत्त्वपूर्ण निकाय यही हो। पढेका मान्छेले खेती गरौँ। नपढेकालाई अन्यत्र कतै रोजगारी दिलाऔँ।’ 
उनले टाई सुट लाएर खेती गर्न जाने दिन हामीले सोच्ने बेला आएको भन्दै सबै क्षेत्रबाट सहयोग गर्न आग्रहसमेत गरे। ‘टाई, कोट लगाएर कार चढेर, जुत्ता लाएर खेती गर्न जाने कृषक बन्नुपर्छ’, उनले भने, ‘साँझ खेतबाट घर आउँदा असिनपसिन हुँदा ट्याक्क सेन्ट छर्ने र बास्ना आउँदै फर्कने वातावरण बनाउन मेरो प्रयत्न हुनेछ। त्यो गर्न सक्नुपर्छ हामीले। सम्भावना छ।’ 
टुक्रे खेतीभन्दा ब्लकमा खेती गर्न कृषकलाई प्रोत्साहन गर्ने उनले बताए। ‘राज्यले लगानी बढाउँछ, अनुदान दिन्छ। काम गर्नेलाई प्रोत्साहन गर्ने, सम्मानित पेसा बनाउने मेरो अठोट छ’, उनले भने, ‘नेपालका लागि धेरै आवश्यक यो क्षेत्र छ भन्ने बनाउने, विकासोन्मुख राष्ट्रमा कृषि नै मूल आधार हो भनेर संसारमा चिनाउने काम गर्नेछु।’ 
उनले आवश्यक अध्ययन तथा नीति नियमका लागि सम्बन्धित सबै कर्मचारीहरूलाई निर्देशन दिइसकेको समेत बताए। कृषिका विभिन्न उद्योगहरू संचालनमा ल्याएर प्रदेश ४ आयात होइन, निर्यात गर्ने प्रदेश हो भनेर चिनाउन आफू लागिपरेको समेत बताए। 
एक जिल्ला, एक पहिचान 
प्रदेश ४ का ११ जिल्लाको एक एक पहिचान स्थापित गर्ने उनले बताए। ‘४ नम्बर प्रदेशमा ११ वटा जिल्ला छन्’, उनी भन्छन्, ‘कृषिबाटै ११ वटा पहिचान बनाउने मेरो जोड हुनेछ। व्यावसायिक खेती कृषि जोन, सुपरजोन, पकेट क्षेत्र मेरो प्राथमिकतामा पर्नेछन्।’ कुन ठाउँमा कुन खालको खेती गर्न सम्भव छ भनेर विज्ञहरूको समूह बनाई काम अघि बढाउन लागिपरेको थापाको भनाइ थियो। 
प्रदेश ४ का मान्छे भोकै मर्दैनन् 
खान नपाएकै कारण भोकै भएर प्रदेश ४ को कोही जनता मर्नु नपर्ने कार्ययोजनासहित आफू अघि बढेको उनले बताए। ‘मान्छे भोको भएर, खान नपाएर मर्न नपर्ने अवस्था सृजना म मेरो कार्यकालमा गर्छु’, उनले भने, ‘सबै कृषक बनाउने र व्यावसायिक बनाउने योजना छ।’ 
कृषकसँग मन्त्री 
हरेक महिना ‘कृषकसँग मन्त्री’ कार्यक्रम आफूले सुरु गर्न लागेको समेत उनले बताए। ‘कृषकसँग मन्त्री कार्यक्रम सुरु गरिहाल्छु’, उनले भने, ‘हरेक महिना कुनै न कुनै जिल्लामा जाने कार्यक्रम ल्याएको छु। सके कृषकसँगै काम गर्ने, नसके कृषकसँग सिधै भालाकुसारी गर्ने। कृषकको माग, समस्या मन्त्रीले सिधै थाहा पाओस्।’
जनताको, तल्लो वर्गकोे भाव त्यहाँ आउने र कार्ययोजना कसरी बनाउन सकिन्छ, कस्तो बनाउने भन्नेबारे थाहा हुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.