|

भद्रपुर, (झापा) : सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट भारतको दिल्लीतर्फ जाँदै गरेका ३ महिलाको उद्धार गरेको छ। ती महिलाहरूलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

इलाम जिल्ला फिक्कल नगरपालिका– ५ की ३५ वर्षकी कमला राई, सोही ठाउँ निवासी १८ वर्षकी निछा राई र झापा मेचीनगर नगरपालिका (साविक बाहुनडाँगी ६) निवासी ३२ वर्षकी सृजना राईलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए। 

उनीहरूलाई भारत लैजाने भारतको विहार राज्यस्थित किशनगन्ज जिल्ला धनतोला ग्राम पंचायत निवासी २५ वर्षका मख्तार आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक बरुवालले बताए। सशस्त्र प्रहरीले उनीहरूको साथबाट २ थान नागरिकता बरामद गरेको छ।

झापा गाउँपालिका– १ स्थित लसुना नाकाबाट भारततर्फ गइरहेका उनीहरूलाई शंका लागेर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले अनुसन्धान गर्दा उनीहरू रोजगारीको सिलसिलामा भारतको दिल्लीतर्फ गइरहेको खुल्नमा आएको बरुवालले बताए। ‘तीन दिनअघि इलामबाट दुई महिला झापा आएका हुन्’, उनले भने, ‘उनीहरू झापा आएर बाहुनडाँगी बसेका थिए।’ 

ती महिलासँग आलमको भेटघाट सडकको नाला बनाउने क्रममा इलाममा भएको उनले बताए। यता, सशस्त्र प्रहरीले उद्धार गरिएका ३ महिला र पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.