|

काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले हिन्दु अधिराज्य र राजसंस्था पुनःस्थापना गर्न माग गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा गठबन्धनले पत्रकार सम्मेलन गरेर नेपाललाई सनातन हिन्दु राज्य घोषणा नगरिए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। गठबन्धनका संयोजक तथा लोककल्यणकारी पार्टीका अध्यक्ष किशोरी महतोले जीवनभर सनतान हिन्दु राज्य र राज संस्थाका लागि लड्ने बताएका छन्। 

‘मुलुक ७ दल, ५ दलको नाममा निरन्तर ओरालो लागेको छ, यति महँगो संघीयता मुलुकले थेक्न सक्दैन, देशी विदेशी शक्तिहरूले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेका छन्, यो गलत कार्य हो’, उनले भने, ‘हामीलाई यो कार्य कुनै पनि हालतमा स्वीकार्य छैन। त्यसैले २०७२ सालको संविधानको विरुद्धमा उभिएका हौँ।’

उनले एक महिना लामो समय लगाएर गठबन्धन निर्माण गरेको भन्दै यसमा ४२ दलहरू संगठित भएको जानकारी दिए। ‘हाम्रो आकार अझै बढ्नेछ। नेपाललाई अस्थिर बनाएर राष्ट्रियता कमजोर बनाउने काम देशी विदेशी शक्तिहरूबाट भएको छ, जुन कुरा हामीलाई स्वीकार छैन’, उनले भने, ‘सर्वपक्ष समेटिने र सर्वस्वीकार्य संविधानको पक्षमा हामी छाँै।’ अहिलेको संविधानले राष्ट्रियता कमजोर बनाउने काम गरेकाले यस संविधानको खारेजीको पक्षमा जनमत खडा गरी राष्ट्रलाई राजनीतिक स्थायित्व प्रदान गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

उनले भने, ‘वर्तमान संविधानले नेपाल र नेपाली जनताको हितविपरीत तीनवटा काम गरेको छ, राष्ट्रियता कमजोर बनाएको छ, सनातन हिन्दु धर्म मास्ने काम भएको छ, राजसंस्थाको अपमान भएको छ, यी सबै कुरा नेपाल र नेपाली जनताका अमूल्य सम्पत्ति हुन्।’

उनले २०६३ सालमा राजा र ७ राजनीतिक दलहरूका बीचमा भएको समझदारीलाई तत्काल जनताको बीचमा ल्याउनुपर्ने माग पनि गरे। त्यो समझदारी के थियो? राजनीतिक दलहरूले किन भन्न सकिरहेका छैनन्? हामी चाहन्छौँ, तत्काल त्यो समझदारी बाहिर आओस्।’

संयोजक महतोले आफ्ना मागहरू तत्काल सम्बोधन नगरेको खण्डमा सडक संघर्षदेखी संविधान खारेजीसम्मको आन्दोलन थालिने चेतावनी पनि दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.