|

बारा : सुख, दुःखमा साथ दिने साथीले नै प्राण लिन्छ भन्दा कसरी पत्याउनु? तर भारतको विहार रक्सौलका २२ वर्षका मनीषकुमार नारायणको जीवनमा यस्तै भयो।

वैवाहिक जीवनमा बाँधिने पक्का भएपछि आफन्त र साथीभाइलाई विवाहको निम्तो कार्ड बाँड्न हिँडेका मनीष छिमेकी मुलुक नेपालमा वीभत्स हत्याको शिकार भए।

मनीषको शव गत शुक्रबार बाराको परवानिपुर गाउँपालिका– ५ बहुवरी टोलस्थित पूर्व–पश्चिम गण्डक नहरको सडक किनारमा फेला परेको थियो। उनी एक दिनअघि घरबाट साथीसँग निम्तो बाँड्न निस्केका थिए। ‘अपरिचित युवकको शव भेटिएपछि बारा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। बाराका प्रहरी प्रवक्ता भुवनेश्वर साहले भने, ‘शव भारत विहार रक्सौल– १० काली मन्दिर रोडका प्रमोदकुमारका छोरा मनीषको भएको पहिचान भयो।’ उनका परिवारले शव सनाखत गरेका थिए।

उनका परिवारले मनीषसँगै रहेका साथीहरूको बारेमा सूचना दिएपछि बारा प्रहरीले भारत विहारका २५ वर्षका सन्तोष गुप्ता र २४ वर्षका राहुल पटेललाई पक्राउ गर्न सफल भयो। ‘उनीहरूलाई नेपाल, भारत र पर्सा जिल्लाको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो,’ प्रवक्ता साहले भने, 'उनीहरूमाथि अनुसन्धान गर्दा मनीषलाई योजना बनाई उनीहरूले नै घाँटी रेटी हत्या गरेर नहरमा शव फालेको खुल्न आएको छ।’

यस्तो थियो हत्याको योजना

प्रहरीका अनुसार मृतक मनीषकुमारको विवाह फागुन ११ गते भारतको घोडासहन भन्ने ठाउँमा हुने तय भएको थियो। गत फागुन ३ गते बिहान मनीषको घरमा गई राहुल र सन्तोषले करिब ३ घण्टासम्म कुराकानी गरी वीरगन्ज जान राजी गराएका थिए। विवाहको कार्ड बाँड्न जाऊँ भन्दै २ जनाले मनीषलार्ई फकाई वीरगन्ज ल्याई चंडाल चोकमा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराएका थिए। घटनामामा ना२ह ११० नम्बरको ईरिक्सा प्रयोग गरेको पाइएको छ। शव  बोक्न प्रयोग भएको टेम्पोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानपछि प्रहरी उपरीक्षक राजकुमार बैदावरले भने, ‘त्यसपछि २ जनाको सहयोगमा राती अन्दाजी ९ बजेको समयमा गण्डक नहरमा धारिलो हतियारले घाँटी रेटी मारेको स्वीकार गरेका छन्।’ हत्यामा सहयोगी बनेका २ जना अझै फरार रहेको प्रहरी उपरीक्षक बैदवारले जानकारी दिए।

बहिनीलाई धोका दिएको बद्ला

हत्यामा संलग्न अभियुक्त राहुलकी बहिनीसँग मनीषको प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। उनीहरूबीच अवैध सम्बन्धसमेत रहेका कारण राहुल मनीषसँग बहिनीको विवाह होस् भन्ने चाहन्थे तर मनीषले घोडासनीकी एक युवतीसँग विवाह गर्ने भएपछि हत्या योजना बुनिएको अनुसन्धनका खुलेको प्रहरी उपरीक्षक बैदवारले बताए। बहिनीसँग प्रेम सम्बन्ध राखेर अर्कैसँग विवाहको तयारी भएपछि आफ्नी बहिनीलाई धोका दिएकाले हत्या गरेको राहुलले स्वीकार गरेका छन्।

हत्यामा सन्तोष मुख्य योजनाकार भएको प्रहरीको दाबी छ। उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त हुन्। उनीहरूले सुरक्षित गन्तव्यका रूपमा मनीषलाई नेपाल ल्याई मदिरा खुवाएर हत्या गरेका थिए।

मृतक र अभियुक्त भारतीय नागरिक भएकाले प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ। उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

भारतीय पक्षसँग समन्वय गरेर कानुनी प्रक्रियाअनुसार अघि बढ्ने बारा प्रहरीको तयारी छ। भारतीय नागरिक भए पनि अपहरण गरी नेपालमा ल्याई हत्या गरिएको मुद्दामा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बैदवारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.