मेलम्चीको काम अपेक्षित गतिमा अघि नबढेको स्वीकार

|

काठमाडौं : दातृ निकाय एसियाली विकास बैंक(एडिबी) को सहयोगमा नेपालमा ३५ वटा आयोजना सञ्‍चालन भएका छन्। एडिबीले  सन् २०१७को अन्तसम्ममा नेपलामा ३५ आयोजनामा करिब साढे २ खर्ब नेपाली रुपैयाँ (२.५ विलियन डलर) लगानी गरेको जानकारी गराएको हो। 

सबैभन्दा ठूलो लगानी सहरी तथा खानेपानी, ऊर्जा,र यातायात क्षेत्रमा  क्षेत्रमा गरेको एडिबीले शुक्रबार सार्वजनिक गरेको 'नेपाल पोर्टफोलियो पर्फमेन्स रिभ्यु -२०१७’मा उल्लेख गरिएको छ। 

सहरी तथा खानेपानी क्षेत्रमा मात्रै एडिबीको ७६१ मिलियन डलर लगानी गरेको उल्‍लेख गरिएको छ। यो ७६ अर्ब १० करोड रुपैयाँ हुन आउँछ। ऊर्जा क्षेत्रमा पनि एडिबीको सबैभन्दा ठूलो लगानी रहेको छ। ऊर्जा क्षेत्रमा ६०१ मिलियन डलर अर्थात् ६० अर्ब १० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ। 
यातायात क्षेत्रमा ४५३ मिलियन डलर अर्थात् ४५ अर्ब ३० करोड रुपैयाँ बराबरको लगानी गरेको छ। 

कृषि, पुनर्निर्माण र शिक्षा क्षेत्रमा पनि एडिबीले ठूलो लगानी गरेको देखिएको छ। कृषि क्षेत्रमा २३० मिलियन डलर (२३ अर्ब),  पुनर्निर्माणमा २०३ मिलियन डलर (२० अर्ब ३० करोड) र शिक्षामा १४१ मिलियन डलर (१४ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ।

यी बाहेकका थप केही आयोजनामा पनि लगानी रहेको एडिबीको प्रतिवेदनले देखाएको छ। ती आयोजनामा ५० मिलियन डलर (५ अर्ब रुपैयाँ) रहेको छ।

विभिन्न क्षेत्रका ३५ आयोजनामा एडिबीको लगानी रहेकोमा अहिले सञ्‍चालनमा १८ वटा आयोजना रहेको एडिबी प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै, पाँचवटा आयोजना सुरुवाती चरणमा र १२ वटा आयोजना अन्तिम चरणमा रहेका छन्। 

सन् १९६९ यता एडिबीले नेपालमा ५.३ विलियन डलर अर्थात् ५३० अर्ब रुसहायता प्रतिबद्धता गरेको जनाएको छ। २०१७ मा मात्रै नयाँ आयोजनाका लागि ४२१ मिलियन डलर अर्थात् ४२ अर्ब १० करोड रुपैयाँ लगानी गरेको उल्लेख गरेको छ। 

१२ आयोजनाको काम सुस्त 
सन् २०१७ मा एडिबीको मातहतमा सञ्चालन भएका १२ आयोजनाको काम सुस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। १२ आयोजनामध्ये ऊर्जाका ३, हवाई, सहरी तथा खानेपानीका र  सडक यातायातका क्रमश: २/२ र शिक्षा र वित्तीय क्षेत्रका १/१ आयोजना रहेका छन्। समग्र आयोजनाको प्रगति प्रतिशत भने ८२ पुगेको उल्लेख गरिएको छ। 

मेलम्चीले अपेक्षित गति नलिएको स्वीकारोक्ति
एडिबीले मेलम्ची खानेपानी आयोजनाको कामले अपेक्षित गति लिन नसकेको स्वीकारेको छ। देशीय निर्देशक मुख्तोर खामुडखानोभले सन् २०१७ मा एडिबीले अपेक्षित गति लिन नसकेको बताएका हुन्।

उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट स्तरोन्नतिको कामले अपेक्षित गति लिन नसकेको बताए। देशीय निर्देशक मुख्तोर खामुडखानोभलले ठूलो परियोजनाको काममा ढिलाई हुँदा अरू परियोजनालाई पनि अगाडि बढाउन असर परेको समेत बताए। 

परियोजना समयमै सम्पन्न गर
अर्थमन्त्रालयले एडिबीलाई सञ्‍चालन गरेका आयोजनामा समयमै सम्‍पन्न गर्न आग्रह गरहेको छ। साथै त्यसको लागि नेपाल सरकारको तर्फबाट आवश्‍यक सहयोग गर्ने प्रतिबद्वतासमेत अर्थले जनाएको छ। 

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले एडिबीको नेपालमा सञ्‍चालित परियोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। 'नेपाल सरकार एडिबीसँगको सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको छ, समयमै परियोजना सक्न आग्रह गर्छु र हाम्रोतर्फबाट आवश्‍यक सहयोग हुन्छ' अधिकारीले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.