|

विराटनगर :  प्रदेश १ का अर्थमन्त्री ईन्द्रबहादुर आङ्बो (मौसम) ३६ वर्षका भए। ईन्द्रबहादुर आङ्बो सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीको जनसेनाको कमाण्डर थिए। 

इलाम, मोरङ, भोजपुर, धनकुटालगायतका जिल्लाको ग्रामीण क्षेत्र डुले घुमेका उनै कमाण्डर आङ्बो अहिले प्रदेश १ को आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन्। 

१७ वर्षमै पढाइ छाडेर युद्धमा होमिएका उनै आङ्बो हाल अर्थमन्त्री भएपछि उनको विज्ञताप्रति टीकाटिप्पणी पनि भइरहेकै छन्। तर, आङ्बोले आफू मार्क्सवादी अर्थतन्त्रको अध्ययन र चिन्तक रहेको दाबी गर्दै आफू यस मोर्चामा पनि विजयी हुने दाबी गर्छन्। ‘हो मैले १२ कक्षासम्म मात्रै पढेको छु तर मैले अर्थतन्त्रबारे मार्क्सवादी शिक्षा अनौपचारिक रूपमा धेरै पढेको र बुझेको छु’, आङ्बोले भने, ‘म अझै विकट पहाडी जिल्ला पाँचथरमा जन्मे हुर्के बढेको मान्छे हुँ, यसैले आफ्नो प्रदेशको समस्यालाई मैले नजिकबाट बुझेको छु।’ 

काममा लाग्नुअघि आफूलाई आलोचना गर्ने र विज्ञतामा प्रश्न उठाउनेलाई परिणाम हेर्न सुझाव दिन्छन् आङ्बो। ‘यहाँको आर्थिक समस्या कसरी समाधान गर्ने भन्ने उपाय मलाई थाहा छ,’ उनले भने, ‘मन्त्रालयमा मन्त्री एक्लै होइन, विज्ञ र अनुभवी कर्मचारीसमेतको टिमले सहयोग गर्ने भएकाले म प्रदेश १ को उदाहरणीय अर्थमन्त्री बन्न सफल हुनेछु।’

कर्मचारीसँग आवश्यक तालमेल मिलाएर काम गर्ने आङ्बोले बताए। ‘हामीले जनयुद्ध, जनआन्दोलनमा रगत पसिना बगाएर देशमा गणतन्त्र र संघीयता ल्याएका हौं’, उनले भने, ‘अब पुरानो हाेइन, नयाँ ढर्रामा काम गर्नुपर्छ।’ परम्परागत ढंगले काम गर्ने कर्मचारी पछि पर्ने चेतावनी दिँदै आङ्बोले आफ्नो शैली परिवर्तन गर्न आग्रह गरेका छन्।

'घस्रिने होइन, दौडनेछौँ'

मन्त्री आङ्बोले आगामी दिनमा विकासका योजना घस्रिने नभई दौडने खालको बनाउने बताए। उनले बजेट निर्माणको प्रारम्भिक तयारी तत्काल सुरु गरिने जानकारी पनि दिए।

‘अधुरो रहेको जोगवनी–किमाथांका सडक र भद्रपुर ओलाङचुङ‌्गोला सडक निर्माणलाई तीव्रता दिने मेरो योजना छ’, उनले भने, ‘चीन र भारतसँग जोड्ने प्रत्येक सडकलाई प्राथमिकतामा राखिनेछ।’ बजेटले ग्रामीण कृषि सडकको स्तरोन्नतिमा पनि प्राथमिकता दिने उनले बताए। ‘नेपाललाई विश्व अर्थतन्त्रमा चिनाउने एउटै मात्र आधार कृषि नै हो’, उनले भने, ‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाएर अधिक उत्पादन र विविधीकरणमा जोड दिइनेछ।’ 

निरन्तरको व्यापार घाटा कम गर्ने, आयातमुखी अर्थतन्त्रलाई घटाएर निर्यातमुखी अर्थतन्त्र निर्माण गरिने उनले बताए। ‘निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि कृषिको व्यावसायीकरण आवश्यक छ’, उनले भने, ‘५ वर्षभित्रमा निर्यातमुखी व्यापारमा आत्मनिर्भर बन्न सक्ने हामीले विश्वास लिएका छौँ।’

करको दायरा फराकिलो बनाइने

अर्थमन्त्री आङ्बोले आगामी कर नीतिमा पनि सुधार गर्ने बताए। ‘कर धेरै कसेर लिनेभन्दा पनि करको दायरा बढाउनेमा हाम्रो जोड हुनेछ। अर्कोतिर करको व्यापक रूपमा भइरहेको चुहावट नियन्त्रण गरिनेछ’, उनले भने, ‘प्रदेश १ मा ४० प्रतिशत कर चुहावट भइरहेको जानकारी मैले पाइसकेको छु। यसमा हाम्रो विज्ञ टिमले समाधानका उपायबारे छलफल थालिसकेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.