|

  • देवानन्द न्यौपाने-

कैलाली : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको शुक्रबारको खेलले टुंगो लगाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ९८ रनको शानदार जीत हात पार्दै अन्तिम ४ मा स्थान सुरक्षित बनाएको हो। शुक्रबार नै भएको दोस्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदूरपश्चिममाथि १२ रनको जीत हातपारेको छ। 

शुक्रबारको पहिलो खेलमा नेपाली टोलीकी कप्तानसमेत रहेकी पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलविरुद्ध फराकिलो जीत दर्ता गरेको हो। 

टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १३४ रन बनायो। पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुविना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिइन्।

तेस्रो विकेटका लागि क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेका थिए। मध्यपश्चिमाञ्चलकी निरूपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १÷१ विकेट लिए। 
१३५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन मात्रै बनाउन सक्यो। 

मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो। मध्यपश्चिमाञ्चलका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खातासमेत खोल्न सकेनन्। उसका लागि सीता मगरले ६ तथा शान्ति खत्री र सृष्टि डाँगीले समान ४÷४ रन बनाए।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री, अनुपमा चौधरी र संगम तामाङले समान २÷२ विकेट लिए। खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भइन्। 

शुक्रबार नै भएको दोस्रो खेलमा मध्यमाञ्चलले सुदूरपश्चिममाथि १२ रनको जीत निकालेको छ। टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो। मध्यमाञ्चलका लागि सीता श्रेष्ठले २३, अस्मिता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विडारीले १४/१४ रनको योगदान दिए। दोस्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल तयार पारेका हुन्। 

सुदूरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुँवर र लक्ष्मी साउदले समान १÷१ विकेट लिए। १०६ रनको मध्यम लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली सुदूरपश्चिमले उत्कृष्ट सुरुवातका बाबजुद हार व्यहोर्नुपरेको हो। सुदूरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतिमा ९३ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु बोगटीले ३६ रनको साझेदारी गरेका थिए। कविताले २२ रन बनाइन् भने कप्तान मञ्जुले ८ रन बनाइन्। 

बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेस्रो नम्बरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजीत रहँदै ३९ रन बनाए पनि आफ्नो टिमलाई जिताउन भने सकिनन्।

मध्यमाञ्चलका लागि सुमन खतिवडा र रोजी कडारीले समान १÷१ विकेट लिए। खेलको नेपाल वेष्टर्न एमेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन्। फाइनल प्रवेशका लागि मध्यमाञ्चलले समूह एको विजेता बन्दै समूह बीको उपविजेता पूर्वाञ्चलको सामना गर्ने भएको छ भने सुदूरपश्चिमलले समूह बीको विजेता विभागीय टोली एपीएफको सामना गर्ने भएको छ। 

सेमिफाइनलका दुवै खेल शनिबार फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.