पोस्टमार्टम गर्न छिमेकी जिल्ला

|

डोटी : डोटीमा कार्यरत डाक्टरले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेपछि पाँच दिनदेखि डोटीका अस्पताल डाक्टरविहीन भएका छन्। फागुन ६ आइतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जीतेन्द्र सिंहमाथि कुटपिट भएको भन्दै बुधबार डाक्टरले जिल्ला छोडेका हुन्।

जिल्ला छाड्नेमा डा. विवस पराजुली, डा. जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजकुमार विश्वकर्मा रहेका छन्। उनीहरूले आफुहरू असुरक्षित रहेको भन्दै जिल्ला छोडेका हुन्। डाक्टरहरूले कुटपिट गर्नेहरूविरुद्ध सार्वजनिक मुद्दा पनि दायर गरेको छन्। 

डाक्टरहरूले जिल्ला छाडेपछि जिल्ला अस्पताल, सुजङ्ग अस्पताल, शैलेश्वरी अस्पताल, शिखर पोलिक्लिनिकलगायत जिल्लामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरू समेत डाक्टरविहीन बनका छन्। 

उक्त घटनाले आफुहरू असुरक्षित भएको र काम गर्न समेत असहज भएकाले जिल्ला छोड्नु परेको डा. जितेन्द्र सिंहले बताए। उनले भने, ‘सुरक्षितसँग काम गर्ने वातारण भयो भने मात्र डाक्टर जिल्लामा फर्कन सक्छन्।’

उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघले विज्ञप्ति जारी गर्दै जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूलाई जिल्ला छोड्न आग्रह गरेको थियो। कुटपिटको घटनामा संलग्न भएको भन्दै दिपायल सिलगढी नगरपालिका–७ का हिक्मतसिंह बिष्ट, विजय बिष्ट, टेकबहादुर बिष्ट र दिपायल सिलगढी–६ का अरुण महतलाई प्रहरीले पक्राउ गरेको छ।

पोष्टमार्टम गर्न अर्को जिल्ला

डाक्टरहरूले जिल्ला छाडेपछि जिल्लाका अस्पताल एचए र सीएमएको भरमा रहेका छन्। त्यसैले पोष्टमार्टमका लागि शव डडेल्धुरा जिल्ला पठाउनु परेको छ।  यसले जिल्लामा भएका घटनाबारे अनुसन्धान गर्न समेत समस्या भइरहेको प्रहरीले बताएको छ।

‘शुक्रबार र शनिबार दुईवटा झुण्डिएर मृत्यु भएको घटना भयो,’ जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख डीएसपी शिवबहादुर सिंहले भने, ‘उनीहरूको शवको पोष्टमार्टम गर्न छिमेकी जिल्ला डडेल्धुरा लगिएको छ।’ जिल्लामा डाक्टर नहुँदा पोष्टमार्टम गर्न जिल्लाबाहिर पठाउनुपर्दा घटनाको अनुसन्धानमा समेत समस्या भएको प्रहरीले बताएको छ।

डाक्टर पठाउन माग

अस्पतालमा सेवा ठप्प भएपछि आइतबार बसेको सर्वपक्षीय बैठकले डोटी जिल्लामा तत्काल चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। सरकारी र निजी क्षेत्रका चिकित्सकले जिल्ला छोड्दा नागरिकको स्वास्थ्यमाथि समस्या हुने भन्दै तत्काल चिकित्सक पठाउन आग्रह गरिएको हो।

प्रमुख जिल्ला अधिकारी, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाजका अगुवा र पत्रकार सहभागी भएको बैठकले चिकित्सकले काम गर्ने वातावरण सिर्जनाका लागि भूमिका निर्वाह गर्ने भन्दै जिल्लामा आएर काम गर्न अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.