|

काठमाडौं : सामान्यतया शैक्षिक मुद्दा, विद्यार्थीका सरोकार र राजनीतिक विषयमा छलफल गर्ने विद्यार्थी नेताहरुको बैठकमा सोमबार नयाँ विषयले प्रवेश पायो। विषय थियो- सामाजिक सञ्जालमा हुने असभ्य गाली गलौजको विषय। बैठकले छलफलपछि यस विषयमा निर्णय नै गर्‍यो।

संयुक्त विद्यार्थी संगठनको सोमबार बसेको बैठकको आठौँ निर्णयमा लेखिएको छ-

सामाजिक सञ्जालहरुमा देखा परेको अवाञ्छित गतिविधि (गाली गलौज, अपशब्द र साम्प्रदायिकता भड्काउने शब्दहरु) नियन्त्रणका लागि विद्युतीय अपराध सम्बन्धी कानुन क्रियाशील बनाउन बैठकले माग गरेको छ। साथै अनेरास्ववियु अध्यक्ष  नविना लामाप्रति लक्षित गरेर भइरहेका नकारात्मक गतिविधिप्रति खेद व्यक्त गरिएको छ।

भएको के हो?

अनेरास्ववियुकी अध्यक्ष नविना लामाले यही भदौ २२ गते एउटा कार्यक्रमको फोटो फेसबुकमा पोस्ट गरिन्, जसमा उनले साडी लगाएकी छन्, ढाकाको खादा भिरेकी छन्।

एक हजारभन्दा बढीले लाइक गरेको यो पोस्टमा सोमबारसम्म १३८ कमेन्ट आएका छन्।

पोस्टमा दुईथरी प्रतिक्रिया आएका छन्। एकथरीले नविनालाई संस्कृति विरोधी भन्दै गालीगलौज गरेका छन् भने अर्काथरीले नविनाप्रति सिंगो तामाङ समुदायले पनि गर्व गर्नुपर्ने तर्क गरेका छन्।

के भन्छिन् नविना?

फेसबुकमा आफूमाथि अपशब्द प्रयोग भएपछि विद्यार्थी नेतृ नविना लामा अहिले विद्युतीय कारोबार ऐन अन्तर्गत उजुरी गर्ने तयारीमा छन्।

विभिन्न कार्यक्रममा आयोजकले सम्मानस्वरुप दिएको खादा लगाएको फोटो फेसबुकमा राख्दा आफूलाई संस्कृति विरोधी भन्दै अपशब्द प्रयोग गरेर गालीगलौज गरिएको र अपमान गरिएको लामाले बताइन्।

'एउटा सामाजिक व्यक्तित्व भएका कारण कार्यक्रममा आयोजकले गरेको सम्मान स्वीकार्नु मेरो कर्तव्य हो। म सबै संस्कृतिको सम्मान गर्छु', लामाले भनिन्, 'फेसबुकमा फोटो राखेपछि अपमान गर्दै तल्लोस्तरको गालीगलौज गरिएको छ।'

फेसबुकमा आफूलाई तल्लोस्तरमा गाली गर्नेहरुविरुद्ध उजुरी गर्ने तयारीमा रहेकी नविनाले भनिन्- 'चौकीमै जानुपर्छ भन्ने त होइन तर कतिपय मानिस असंवेदनशील देखिए। म १०/१५ वर्षदेखि राजनीतिमा रहेको व्यक्ति यस्तो विषयमा चुप बस्न सुहाएन।'

सामाजिक सञ्जालमा हुने अपमानजनक कार्य र गालीगलौज नियन्त्रणका लागि विद्युतीय अपराध सम्बन्धी कानुन क्रियाशील बनाउन बैठकबाट माग गरिएको नविनाले बताइन्।

के छ कानुन?

नेपालमा सामाजिक सञ्जाललाई नै नियमन गर्ने कुनै कानुन नभए पनि ‘विद्युतीय कारोबार ऐन, २०६३’ अनुसार कारबाही गर्ने गरेको उदाहरण छ। अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले ऐनको दफा ४७ लाई दुरुपयोग गरी अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरिएको भन्दै आलोचना पनि गर्ने गरेका छन्। दफा ४७ मा उल्लेख छ-

विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्नेः (१) कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक पटक गरेमा त्यस्तो कसूर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.