|
फाइल तस्बिर

भद्रपुर (झापा) : सरकारले प्रदेश १ अन्तर्गतको झापा जिल्लालाई पहाडसँगै होलीको सार्वजनिक बिदा दिएपछि यहाँका नागरिक अन्यौलमा परेका छन्। यहाँका नागरिक होली बिहीबार कि शुक्रबार भन्दै अन्यौलमा परेका हुन्।

नेपालको भूगोलमा झापासहित २० जिल्ला तराई पर्छन्। तर, सरकारले गत वर्षदेखि झापालाई तराईबाट अलग बनाएर पहाडी होलीको दिन सार्वजनिक बिदा दिन थालेको छ। यसअनुसार यहाँ बिहीवार सार्वजनिक पर्दछ। 

बिहीबार सरकारी निकाय बन्द हुने भए पनि झापावासी नागरिक शुक्रबार होली खेल्ने तयारीमा रहेका छन् । झापाका भद्रपुर, बिर्तामोड, धुलाबारी, काँकडभिट्टा, दमकलगायतको मुख्य सहरमा शुक्रबार मात्र होली मनाउने स्थानीयवासी बताउँछन्। ‘झापालाई पहाडसँग दाजेर सरकारले गरेको यस्तो निर्णय हामी मान्दैनौं,’ स्थानीय सञ्जिव पौडेलले भने, ‘तराईवासी हामी शुक्रबार नै होली खेल्छौं।’

झापासहित तराईका २० जिल्लामा एकै साथ होली मनाउँदै आएको र एकै दिन सार्वजनिक बिदा हुँदै आएको थियो। तर, सरकारले गत वर्षदेखि झापामा पहाडी होलीको दिन नै सार्वजनिक बिदा दिन थालेको छ। यस वर्ष पनि बिहीबार नै सार्वजनिक बिदा दिइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदले पहाडी जिल्लासँगै झापामा पनि होलीको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले गरेको निर्णयलाई गत वर्षदेखि नेपाल राजपत्रमा उल्लेख गर्दै झापा जिल्लालाई पहाडसँग दाजेर होली पर्वको बिदा दिँदै आएको छ। 

राजवंशी समुदायको आपत्ति

सरकारले होलीपर्व (डोल पावनी)को अवसरमा पहाडसँगै सार्वजनिक बिदा दिएका राजवंशी समाज विकास समिति झापाले आपत्ति जनाएको छ। झापामा बसोबास गर्दै आएका आदिवासी समुदाय राजवंशीले पहाडमा मनाइने होली पर्वको भोलिपल्ट झापामा होली मनाउने परम्परा रहेपनि सरकारले हचुवाको भरमा पहाडसँगै सार्वजनिक बिदा दिएकोमा आपत्ति जनाएको हो।

सरकारले उक्त निर्णय नसच्चाए कडा आन्दोलनमा उत्रिने समितिका अध्यक्ष पुकार चन्द्रसिंह राजवंशीले चेतावनी दिए। समितिले गत वर्ष नै होलीको बिदा सच्याउन सरकारलाई प्रशासन कार्यालय झापा मार्फत ज्ञापनपत्र बुझाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.