|

भद्रपुर, (झापा) : झापा ११ फुटबल क्लब झापाको विर्तामोडमा जारी तेस्रो झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ। पहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लवबाई २–१ गोलले स्तब्ध पर्दै घरेलु टोली झापा ११ ले सेमिफाइनलको यात्रा तय गरेको हो। 

खेलमा अग्रता भने सिक्किमले लिएको थियो। तर, टिकेर खेल्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो। खेलको १७औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिएका थिए। झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङको प्रहारलाई हेडमार्फत लेप्चाले पोस्टको जाली चुमाए। 

सिक्किमको अग्रता लिएको ७ मिनेट पनि टिक्न सकेन। खेलको २४औँ मिनेटमा झापाका स्ट्राइकर खमिर गिल्सन कन्दङवाले गोल गर्दै खेल बराबरीमा ल्याए। डि एरियाभित्र पाएको बललाई कन्दङवाले ‘साइक्लिङ’ किकमार्फत आकर्षक गोल गरेका थिए। 

यस्तै, घरेलु दर्शकको साथ पाएको झापाले खेलको ४२औँ मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच गर्दै ‘अन गोल’ भएपछि झापाको अग्रता दोब्बर भयो।

खेल अवधिभरमा सिक्किमलाई झापाले दबाबमा राखेको थियो। खेलको म्यान अफ द म्याच झापा ११ का विश्वास श्रेष्ठ घोषित भए। उनले ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपैयाँ प्राप्त गरे। बिहीबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुने आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.