‘वाउन्सर’ प्रयोग गरी साथी मिलेर हत्या गरेको खुलासा

|

भद्रपुर (झापा) : झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्या आफ्नै साथीले गरेको खुलेको छ। बिर्तामोडस्थित ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले देवा ज्वेलर्सका सञ्चालक मुखियाको हत्या गरेको खुलासा भएकाे हो। 

इलाका प्रहरी कार्यालय बिर्तामोडमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुृमार केसीले भने, ‘व्यवसायी मुखियाको हत्या उनकै साथी देवले आफ्नै पसलमा राखेका ‘वाउन्सर’को प्रयोग गरेर गरेको अनुसन्धानबाट खुलेको छ।’ घटना संलग्न देवसहित बिर्तामोड- ८ त्रिवेणी टोलका १९ वर्षका दिपेश पौडेल र तेह्रथुमको छातेढुंगा- ८ घर भई हाल बिर्तामोड- ३ सैनिकमोड बस्ने २३ वर्षका प्रकाश भन्ने चिरञ्जिवी ओलीलाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

प्रहरीले उनीहरूको साथबाट एउटा स्कुटर र सुनका गहगहना, छ थान मोवाइलसमेत बरामद गरेको छ। पक्राउ परेका ओली माओवादीका पूर्व लडाकु हुन्। उनी ऋद्धिसिद्धि ज्वेलर्समा ‘वाउन्सर’को रूपमा कार्यरत रहेको बताइएको छ। 

‘पक्राउ परेका तीनै जनालाई मानव अपहरण तथा शरीर बन्धक, खुन डाका र संगठित अपराधअन्तर्गत मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेका छौँ', प्रहरी उपरीक्षक केसीले भने। घटनामा संलग्न अन्य व्यक्ति पनि रहेकाले उनीहरूको खोजी भइरहेको उनले बताए।  

किन गरियो हत्या?

हत्या आरोपमा पक्राउ परेका पारस र मृतक साजन साथी मात्र नभई दुवै जना सुनको कारोबारी हुन्। साजन छोटो समयमा अधिक आर्थिक उपार्जन गर्न सफल सुनचाँदी व्यापारी बन्न पुगे। सोही कारणले पारसको व्यवसायमा गिरावट आएपछि दुवैमा विवाद बढ्न थालेको थियो। साथी साजनको हत्या गरेर आफ्नो व्यवसाय फस्टाउने उद्देश्यले पारसले वाउन्सर ओली र पौडेललगायतको समूहलाई पैसा दिएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पारसले लामो समयदेखि साजनको हत्या गर्ने योजना बनाउँदै आएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जानाएको छ।

यसरी भयो मुखियाको हत्या

मुखिया फागुन २० गते श्रीमतीलाई बजार जान्छु भनेर घरबाहिर निस्केका थिए। बजार हिँडेका मुखियालाई ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक पारसकुमार देवले सुन किन्ने वहानामा पसलमा बोलाएका थिए। व्यवसायी मुखिया साथी देवले बोलाएपछि बिर्तामोडस्थित एभरेष्ट बैंक नजिकै पुगे। पसलतिर नगई देवले मुखियालाई स्कुटरमा राखेर बिर्तामोड- ५ को खाली घरमा लागे।

देवले बिर्तामोड- ५ कै रूपनारायण दाहालको नाममा रहेको मे७प ८७५४ नम्बरको स्कुटर प्रयोग गरेका थिए। घरको पहिलो तलाको उत्तरतर्फको कोठामा लगेर मुखियालाई बन्धक बनाएर साथी पारससहित प्रकाश र दिपेशले कुटपिट गरी हत्या गरेकाे अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए।प्रहरी उपरीक्षक केसीले भने, ‘त्यसपछि मुखियाको घाँटीमा सोही प्लाष्टिकको डोरीले बाँधेर हत्या गरिएको हो।’ हत्यापछि उनको साथमा रहेको सुनको ढिक्का, सुनका गरगहना र नगदसमेत लुटेको बयानमा भनिएको छ।

नियन्त्रणमा लिएको दुई घण्टामै मुखियाको हत्या भइसकेको थियो। त्यसपछि मुखियाको लासलाई सुरक्षित स्थानमा फाल्न उनीहरूले जुटको बोरा प्रयोग गरेका थिए। जुटको बोरामा लासलाई हालेर सोही दिन उनीहरूले भारतीय नम्बर प्लेटको गाडीमा राखेर शनिश्चरे रोड हुँदै बुधबारेबाट इलामको रोङ गाउँपालिका- ३ मा रहेको ठाडो भीरबाट फालेका थिए। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमबार इलामको रोङ गाउँपालिका- ३ कोल्बुङस्थित मेची राजमार्गको लसुने अर्यालचोक सडक खण्डको जमुने डाँडामा फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.