|

भद्रपुर (झापा) : पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन्। बुधबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्दै उनीहरू आन्दोलित बनेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई समितिले नेपाल आयल निगमको चारआली डिपोअन्तर्गतका सम्पूर्ण पम्पहरूमा ढुवानी बन्द गरेका छन्। व्यवसायी तथा मजदुरले पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएपछि झापालगायत मेचीका सम्पूर्ण पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। 

नेपाल आयल निगमले ट्यांकर लगिङ सिस्टम लागू गर्न खोजेको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन आन्दोलित बनेको इकाई समिति चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले जानकारी दिए।

‘नेपाल आयल निगमसँग २०७३ फागुन ९ गते भएको सहमतिलाई ओझेलमा पारी बुँदा नम्बर ४ को एउटा विषय कार्यान्वयन गर्न लागेकामा हामी आन्दोलित बनेका हौँ’, उनले भने।  

मजदुर संगठनले फागुन २७ गते विज्ञप्ति जारी गर्दै आयल निगमले लागू गर्न लागेको लगिङ सिस्टमको विपक्षमा आफूहरू नरहेको तर लगिङपछि ट्यांकरमा लोड गरिएको पेट्रोलियम पदार्थमा नोक्सानि हुने हुँदा त्यसको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग अघि सारेको छ। ‘निगमले झापाको चारआली डिपोमा मात्र यो सिस्टम लागू गर्न लागेको प्रति हामी गम्भीर भएका छौँ’, उनले भने, ‘देशभर एकै साथ यो सिस्टम लागू गरिन्छ भने हाम्रो पूर्ण सहयोग रहन्छ, नत्र हामी आन्दोलनलाई निरन्तरता दिन्छौँ।’ 

गत माघ ५ गते संगठनले मजदुरको समस्याका बारेमा १५ बुँदे मागपत्र पेस गरिसकेको थियो। माग सम्बोधन नभएपछि फागुन २७ गते फेरि यसबारेमा संगठनले चारआली डिपोका प्रमुख सनम कार्कीलाई लिखित रूपमा ध्यानाकर्षण गराइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.