|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो समूहले दुई वर्षदेखि दिएको नि:सर्त समर्थन अब नरहने बताएका छन्।

काठमाडौंको एक पार्टी प्यालेसमा भएको आफ्नो नेतृत्वको समूहको भेलापछि संचारकर्मीसँग सिटौलाले भने, ‘पार्टी सभापतिमा जिताउन मेरो समूहका सबै साथीहरूले विना सर्त पूर्ण समर्थन गर्‍यौँ’, सिटौलाले भने, ‘हामीले उहाँलाई दुई वर्षअघि दिएको ब्लाङ्क चेक अब फिर्ता हुन्छ।’ उनले आफ्नो समूहले पूर्ण रूपमा दिएको समर्थनलाई देउवाले उपयोग गर्न नसकेकाले उनीमाथि सभापतिको हैसियतले ‘क्रिटिकल सपोर्ट’ मात्र हुने बताए। 

सिटौलाले पार्टी सभापति देउवा परिवर्तन हुन सक्ने नदेखेको भन्दै पार्टी नेतृत्व वा उनीहरूको कार्यशैली परिवर्तन नभए पार्टी सिद्धिने चिन्ता पार्टी कार्यकर्ताले व्यक्त गरेको बताए। उनले भने, ‘पार्टी सभापतिमा निर्वाचित भएपछि देउवाले गरेको क्रियाकलाप विधानविपरीतका छन्।’ सिटौलाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति गठन र समानुपातिक उम्मेदवारको छनोट पार्टी विधान र केन्द्रीय कार्यसमिति बैठकको निर्णयविपरीत भएको बताए।

‘निर्वाचनमा आयोगमा कांग्रेसका समानुपातिक उम्मेदवार कोको छन् भनेर हामी बोर्ड सदस्य भएर पनि थाहा पाएनौँ’, सिटौलाले भने, ‘निर्वाचन आयोगले नाम प्रकाशित भएपछि मात्र हामीले समानुपातिकको नाम थाहा भएका हौँ, त्यस्तो नाम सभापति देउवा र नेता रामचन्द्र पौडेललाई मात्र थाहा थियो।’ 

सिटौलाले पार्टीमा देखिएको कमी कमजोरी सुधार्ने वा नयाँ नीति र रणनीति तय गर्ने वा पार्टीको आधिकारिक धारणा के हो भन्ने विषयमा देउवा सभापति भएपछि उनले नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले एउटा पनि प्रतिवेदन वा कार्ययोजना प्रस्तुत नगरेको संचरकर्मी समक्ष बताए। उनले भने, ‘पार्टीले निर्वाचनका सम्बन्धमा गरिएका धेरै निर्णयहरू विधानविपरीत छन्, कार्यसम्पादन, संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिबाट निर्णयसमेत गरिएका छैनन्।’

परम्परागत गुट भत्किन थाले : गगन

संचारकर्मीसँगको अनौपचारिक भेटमा युवा नेता गगन थापाले अब पार्टीमा देखिएका परम्परागत गुट भत्किएको दाबी गरे। उनले विगतमा परम्परागत गुटमा देखिएका नेता र केन्द्रीय सदस्यहरू आफूहरूतर्फ अकर्षित भएको पनि बताए। उनले भने, ‘पार्टीभित्र अबको द्वन्द्व भनेको परिवर्तन चाहने र परिवर्तन रोक्ने गुटबीच मात्र हुन्छ।’

थापाले पछिल्लो राजनीतिक घटनाक्रम पार्टी संसदीय दलको निर्वाचनलगायतका घटनालाई हेर्दा अब पार्टीभित्र पुराना गुटहरू कमजोर हुँदै गएको र परिवर्तन चाहने नेताहरू एकजुट हुन थालेको बताए। उनले पार्टीको आगामी शुक्रबार हुने केन्द्रीय कार्यसमिति बैठकमा आफूहरूले पार्टीको आगामी दिनका कार्ययोजना प्रस्तुत गर्ने जानकारी पनि दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.