सबै भागमा जलप लगाउन १६ किलो सुन चाहिने

|

गोरखा : गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुननिर्माणको काम धमाधम भइरहेको छ। अहिले मन्दिरको माथिल्लो छानामा लगाइएको तामाको पातामा सुनको जलप लगाउने काम सकिएको छ। नेपाल सरकारले दिएको रकमबाट सात किलो सुन किनिएको थियो। तर, मनकामना मन्दिरको सबै भागमा सुनको जलप लगाउँदा १६ किलो सुन लाग्ने अनुमान मन्दिर जीर्णोद्धार समितिले गरेको छ।

‘माथिल्लो छानामा जलप लगाइसकियो’ मनकामना मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने, ‘छानाको बिटमा राख्ने नागकन्याको मुर्तीहरु आउन ढिला भएकोले तल्लो छाना राख्ने काम रोकिएको छ। केही दिनमा त्यो पनि सकिन्छ। अहिले सम्म सात किलो सुनले गजुर र माथिल्लो तलाको छानामा जलप लगाउने काम सिध्याइयो।’

पुरानो गजुर मर्मत गर्न मात्रै २० लाख रुपैँया खर्च भएको उनको भनाई छ। साईत जुराएर नयाँ सालको बैशाखमा गजुर राख्ने योजनामा समिति रहेको छ।  १६ किलो सुनले मन्दिरको छाना, ढोका, नागकन्या लहरीमा जलप लगाउने श्रेष्ठले जानकारी दिए।

नेपाल सरकार पुरातत्व विभागबाट आएको चार करोड रुपैँयाले यस अघि नै सात किलो सुन किनिएको थियो। ‘पहिलेको मन्दिरमा पनि नौ किलो सुनको जलप लगाइएको थियो’ उनले भने ‘अब हामीले कसरी हुन्छ दिर्घकालिन बनाउनु छ। त्यसैले ढिलै होस् बरु बाक्लो र राम्रै होस भनेर पहिलेको भन्दा धेरै खर्च गरेर राम्रो बनाउन लागेका छौँ।’ जिर्णाेद्धार समितीले स्वयम्भूनाथ, बौद्धनाथ मन्दिरमा सुन लगाएकाहरु सँग छलफल गरेर मनकामना मन्दिरमा सुनको जलप लगाएको हो।

अहिले मनकामना मन्दिरको जीर्णाेद्धारको काम ९० प्रतिशत काम सम्पन्न भएको जिर्णाेद्धार समितीेले जनाएको छ। २०७२ असार देखि मन्दिर भत्काएर जिर्णाेद्धारको काम सुरु भएको हो। पूरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो। मनकामना मन्दिर भूकम्पका कारणले पनि थप जिर्ण भएको थियो।

‘अहिले मन्दिरको ९० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको छ’ जिर्णाेद्धार समितीका अध्यक्ष श्रेष्ठले भने ‘जलप लगाउने काम सबै भन्दा समस्या हुने र धेरै समय लाग्ने गाह्रोको काम हो।’ अब मन्दिरमा केहि टुँडालहरु खोप्ने, झ्याल ढोका र तल्लो छानामा जलप लगाउने काम मात्र बाँकी रहेको छ।

मनकामना मन्दिर जिर्णाेद्धारका लागि नेपाल सरकारले चार करोड र भक्तजनबाट करिब नौ करोड रुपैँया संकलन भएको उनले बताए। २०६८ मा पुरातत्व बिभागले गरेको अध्ययन अनुसार मन्दिर पुनर्निर्माणमा आठ करोड रुपैंया लगानी गर्नुपर्ने बताइए पनि महंगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तीमा १५ करोड रुपैंया आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ।

जीर्णाद्धारका लागि अहिले पनि दिनदिनै मन्दिर आउने भक्तजनहरुले मन्दिर निर्माणको लागि रकम सहयोग गरिरहेका छन्। मन्दिर जीर्णाद्धारको काम भइरहेकोले मन्दिरको छेउमा अर्को मन्दिर स्थापना गरी पूजाआजा गर्ने व्यवस्था मिलाइको छ।

मनकामना मन्दिरमा अहिले दैनिक केबलकार चढेर मात्रै पाँच हजार भक्तजनहरु आउने गरेको मनकामना केबरकारको तथ्याङ्क छ। त्यस्तै सडक मार्ग र पैदल मार्ग भएर पनि मनकामना मन्दिर दर्शन गर्न भक्तजनहरु आउने गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.